धनगढी: कांग्रेस नेता वीरबहादुर बलायरले पार्टी नेताहरूलाई आ–आफ्नो डम्फु नबजाउन अनुरोध गरेका छन् । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा सुदूरपश्चिम प्रदेश सभापति रहेका उनले सो कुरा बताएका हुन् । ‘मिलेर जानुको विकल्प छैन । धेरै आ–आफ्नो डम्फु नबजाऔँ,’ उनले भने, ‘जति पनि राजनीतिक परिवर्तन भए, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनिसकेपछि त्यसका विरोधीहरू सलबलाएका देखिए । शासन प्रणाली ल्याउन योगदान नदिनेहरू सलबलाएका छन् ।’
उनले थपे, ‘जसको शासन प्रणालीमा भूमिका छैन, उनीहरूले गैरजिम्मेवार भएर जनतालाई भड्काउने कोसिस गरेका छन् । यस्तो बेलामा हानथाप गर्नेभन्दा पार्टीलाई एकताबद्ध बनाएर भ्रातृ संस्थादेखि लिएर सबैलाई सही ढंगबाट अगाडि जाऔँ ।’