धनगढी । नेकपा एमालेका नेताहरूले पार्टी नेतृत्वमाथि एकता आवश्यक रहेको भन्दै त्यसलाई कमजोर पार्ने गतिविधिको तीव्र विरोध गरेका छन्। मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा एमाले धनगढी नगर कमिटीद्वारा आयोजित “जनताको बहुदलीय जनवाद स् आजको सान्दर्भिकता” विषयक विचार गोष्ठीमा बोल्दै पार्टी पोलिटब्युरो सदस्य लीला भण्डारीले नेतृत्वविरुद्ध भइरहेका गतिविधिका विरुद्ध कार्यकर्ताहरू सशक्त ढंगले लाग्नुपर्ने धारणा राखिन्। उनले पार्टी नेतृत्व बलियो भएर अघि बढे मात्र मदन भण्डारीको सपना साकार हुने स्पष्ट पारिन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं एमाले केन्द्रीय सदस्य दामोदर भण्डारीले समेत पार्टी नेतृत्वलाई कमजोर पार्ने खालका गतिविधिहरू तुरुन्त रोक्नुपर्ने धारणा राख्दै भने, “यस्ता गतिविधिहरू स्वीकार्य छैनन्।” उनले अझै महाधिवेशन हुन बाँकी रहेको अवस्थामा पार्टी नेतृत्वको विषयमा अपवाह फैलाउने काम भइरहेको उल्लेख गर्दै पार्टीकै जिम्मेवार व्यक्तिहरू यसमा संलग्न देखिनु दुर्भाग्यपूर्ण रहेको बताए। भण्डारीले कार्यकर्ताहरूले नेतृत्वलाई घेराबन्दी गर्न खोज्नेहरूलाई परास्त गर्नुपर्ने पनि बताए।
हाल एमाले कांग्रेससँगको गठबन्धनमा सरकार सञ्चालन गरिरहेको भए पनि आगामी निर्वाचनमा बहुमत ल्याउने उद्देश्यले ‘मिशन ८४’ अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए। पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी र प्रदेश सचिव रणबहादुर चन्दले समेत नेतृत्वविरुद्ध घेराबन्दी गर्ने काम स्वीकार्य नहुने बताएका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने चर्चा चुलिएको बेला मन्त्री भण्डारीको यो अभिव्यक्ति आएको हो, जसले पार्टीभित्र नेतृत्व संरक्षणप्रति सन्देश दिएको छ।
कार्यक्रम एमाले धनगढी उपमहानगर कमिटी अध्यक्ष अम्बिका बिष्ट मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टी प्रदेश अध्यक्ष कृष्ण जैशी, सचिव रणबहादुर चन्दलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


