सुखड । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले पार्टीभित्र गुटभन्दा टिम निर्माणमा जोड दिनु पर्ने बताएका छन्। मदन भण्डारी फाउण्डेसन कैलालीले सुखडमा आयोजना गरेको ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले जननेता मदन भण्डारीको विचार र सिद्धान्तलाई आत्मसात् गर्न कार्यकर्तालाई आह्वान गरे। भट्टले भने, “हामीले जबज भनिरहेका छौँ, त्यो अनुसार चलिरहेका छौँ कि छैनौँ भन्ने समिक्षा गर्नु आवश्यक छ।” उनले नीति र नेतृत्वमा विवाद नभएको भनिए पनि व्यवहारमा देखिएको असहमति गम्भीर विश्लेषणको खाँचो भएको बताए।
कैलाली कमजोर हुँदा सिंगो सुदूरपश्चिम प्रभावित हुने चेतावनी दिँदै उनले प्रश्न गरे, “कैलालीभित्रै किन पार्टीमा एकता छैन रु गुट बनाउने कि टिम रु” उनले कार्यकर्ताबीच तथा नेताबीच देखा पर्ने अन्तरविरोध समाधान गर्नुपर्नेमा जोड दिए। “भित्तामा तस्बिर टाँसेर मात्रै पुग्दैन, मदन भण्डारीको विचार बुझ्न र आत्मसात् गर्नुपर्छ,” उनले भने। पूर्व माओवादीमाथि लगाइने ‘आयातित’ भन्ने आरोपको जवाफमा उनले जनयुद्ध आवश्यकता अनुसार भएको र अहिले पनि एमालेमा आवश्यकता अनुसार आफू रहेको स्पष्ट पारे। “हामी भारतबाट आएका होइनौं। जनयुद्ध आवश्यकता थियो, त्यसैले भयो,” भट्टले बताए।
उनले सहिदहरूलाई आतङ्ककारी नठान्न आग्रह गर्दै भने, “ममाथि गाली गर्नुहोस्, तर सहिदलाई आतङ्ककारी भन्नु अपमान हो।” २०७९ को निर्वाचनप्रति संकेत गर्दै उनले इमान्दारीपूर्वक मत दिइएको भए एमाले थप १० स्थानमा विजयी हुने दाबी गरे। “त्यो भए हामी कांग्रेसभन्दा ठूलो पार्टी हुन्थ्यौँ,” उनले भने। संगठनभित्र अनुशासन र नेतृत्वको सम्मान आवश्यक रहेको उल्लेख गर्दै उनले ‘चेन अफ कमाण्ड’ अनुसार पार्टी सञ्चालन गर्नुपर्ने धारणा राखे। भट्टले पार्टीभित्र जालझेल नगर्न र निर्वाचितपछि समग्र नेतृत्व गर्नुपर्नेमा पनि जोड दिए।
मदन भण्डारी फाउण्डेसन एनजिओ नभई विचार प्रचारको संस्थान भएको भन्दै उनले फाउण्डेसनका संरक्षक स्वयं प्रधानमन्त्री रहेको जानकारी गराए। “मदन भण्डारीलाई सम्झनु भनेको उहाँको विचार अनुशरण गर्नु हो,” उनले भने।


