धनगढी: सधैँ भारतमा रोजगारी गर्ने र घरायसी सामान खरिद गर्नेको आउजाउले व्यस्त देखिने पश्चिमी सीमानाका गड्डाचौकीको दृश्य बुधबार अपराह्न भने फरक थियो । कञ्चनपुरस्थित गड्डाचौकी नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी डम्मरबहादुर वि.क नै गड्डाचौकी पुगेका थिए । स्थानीय प्रशासनका अधिकारी पनि नाकामै थिए । सुरक्षा र प्रशासनका अधिकारी पर्खिरहेका थिए, भारतमा बन्धक बनाइएको अवस्थामा उद्धार गरिएका ५८ जना नेपाली युवालाई । जब ती युवाले नाकाको भारतीय क्षेत्रबाट पैदल हिँडेरै नेपाली भूमि टेके, तब उनीहरूको मुहारमा चमक देखियो । नाकामै उनीहरूले रोजगारीको प्रलोभन देखाएर भइरहेको मानव तस्करी रोक्न र भारतमा बन्धक बनाइएका अन्य नेपाली युवाको उद्धारका लागि नाराबाजी गरेका थिए ।
प्रतिव्यक्ति २३ हजार भारतीय रुपैयाँ लिएर आकर्षक रोजगारी दिने भन्दै ती युवाहरूलाई भारतको रुद्रपुर र काशीपुर पुर्याइएको थियो । इलामको माई नगरपालिका– ८ का सौगात काफ्लेले आफूलाई १६ महिनासम्म बन्धक बनाइएको सुनाए । ‘प्याकेजिङ र बिलिङको काम दिन्छु भनेर भारतमा लगिएको थियो,’ उनले भने, ‘तर, रुद्रपुर पुर्याएपछि हामीलाई कोठामा थुनियो । भात पनि पानीसँग खान लगाइन्थ्यो । कुटपिट पनि हुन्थ्यो । बिहान ४ घण्टा र बेलुका ४ घण्टा मोटिभेसनल तालिम दिइन्थ्यो ।’ काफ्लेका अनुसार कोठामा बन्धक बनाएपछि नेपाली युवाहरूलाई भारतमा आउन इच्छुक आफन्तको सूची बनाउन लगाइएको थियो । ‘एक व्यक्तिमार्फत अर्को र अर्कोबाट फेरि अर्कोलाई बोलाएर नेटवर्किङ ठगी धन्दा चलाइएको थियो,’ काफ्लेले भने ।
कैलालीको चुरे गाउँपालिकाका १५ वर्षीय मानबहादुर विकले गाउँलेकै अनुरोधमा आफू रुद्रपुर पुगेको बताए । ‘२३ हजार भारतीय रुपैयाँ बुझाएर रुद्रपुर पुगेपछि कैयौँ दिनसम्म बन्द कोठामा राखियो, कहिलेकाहीँ विभिन्न तालिम पनि दिइन्थ्यो,’ उनले भने । झण्डै एक महिनाअघि ताप्लेजुङका २७ वर्षीय सोम लिम्बूको भारतमा मृत्यु भएपछि नेपाली युवालाई बन्धक बनाइएको खुलेको हो । लिम्बू मृत्युको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङहुँदै गृह मन्त्रालयसम्म पुगेको थियो । उक्त जानकारी परराष्ट्र मन्त्रालयहुँदै दिल्लीस्थित नेपाली दूतावासमा पुगेको थियो । त्यसपछि लिम्बूको बन्धक अवस्थामा मृत्यु भएको खुलेपछि रुद्रपुर र काशीपुरमा नेपालीहरू बन्धक भएको पत्ता लागेको हो ।
नेपाली राजदूतावास, भारतीय प्रहरी र सामाजिक संस्था किन इन्डियाको समन्वयमा ५८ जनाको उद्धार गरिएको हो । किन इन्डियाका प्रतिनिधि नवीन जोशीका अनुसार अघिल्लो साताको बिहीबार ३५ जना र आइतबार २३ जनाको उद्धार गरिएको थियो । ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरेर युवाहरूलाई स्वदेश पुर्याइएको हो,’ जोशीले भने ।
उद्धार गरिएका ५८ मध्ये सबैभन्दा बढी कैलालीका १० जना थिए । यस्तै, चितवनका ९, उदयपुरका ६, पाँचथरका ५, बाँके र दाङका ४–४, स्याङ्जा र सुनसरीका ३–३, ताप्लेजुङ, धादिङ र तेह्रथुमका २–२ तथा डोटी, इलाम, कास्की, सर्लाही, रुपन्देही, बाग्लुङ, रुकुम पूर्व र गुल्मीका एक–एक जनालाई उद्धार गरी स्वदेश ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । डीएसपी बोहराका अनुसार बुधबार उनीहरूलाई गड्डाचौकी नाकाहुँदै कञ्चनपुर पुर्याइएकोमा बिहीबार मात्रै सम्बन्धित जिल्ला पठाइएको छ ।


