धनगढी । कञ्चनपुरमा ठूलो परिणामको लागुुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पुर्नवास नगरपालिका–६ का दिपक विसी र दार्चुलाको महाकाली नगरपालिका–३ निवासी नरसिंह महरा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका विसी युवा सशक्तिकरण समिति कञ्चनपुरका अध्यक्ष भएको खुलेको छ । उनी माओवादीका प्रदेश कमिटी सदस्य पनि हुन् । प्रहरीका अनुसार उनीहरुलाई पुनर्वास नगरपालिका–६ को एक होटलबाट लागुऔषधसहित पक्राउ गरेको गरिएको थियो ।
विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । उनकाअनुसार उनीहरुको साथबाट २७३ दशमलव २६० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।