बैतडीः बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी १२ जनाभन्दा बढीमा सङ्क्रमण देखिएको जनाएको छ। यो सङ्क्रमणबाट बालबालिका बढी प्रभावित भएकाले स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा विशेष सतर्कता अपनाइएको छ।
सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले सङ्क्रमितहरूको शरीरभरी बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको जानकारी दिए। ‘‘प्रभावित बिरामीलाई छुट्टै आइसोलेसनमा राख्न आग्रह गरिएको छ,’’ उनले भने। यद्यपी, स्वास्थ्यकर्मीहरूले घरदैलोमै पुगि प्रारम्भिक उपचार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।
यसैबिच, उक्त क्षेत्रमा देखिएको रोग ठेउलाकै सङ्क्रमण हो कि भन्ने यकिन गर्न विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को टोली प्रभावित क्षेत्रमा पुग्न लागेको छ। स्वास्थ्य शाखा प्रमुख महराका अनुसार डब्लुएचओको टोली बिहिबार बिहान सुर्नया–७ र ८ मा स्थलगत अनुगमन तथा परीक्षण गर्न जाँदैछ।


