धनगढी । डडेल्धुराको स्याउले बजारमा चक्काजाम हुँदा सुदूरपश्चिमका सातै पहाडी जिल्लाबाट आवतजावत गर्ने सवारी साधन पूर्ण रूपमा रोकिएका छन्। यसका कारण यहाँको यातायात र जनजीवन ठप्प भएका छन्। डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको कारागारमा रहस्यमय मृत्यु भएपछि न्याय माग्दै चक्काजामको गरिएको हो।
कैलाली जिल्ला अदालतले बैंकिङ्ग कसुर मुद्दामा पाली पक्राउपछिको दुई दिनभित्रै असार २ गते सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको थियो। पालीको परिवार र स्थानीय संघसंस्थाहरूले प्रहरीले कुटपिट गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरिरहेका हुन्।
मृतक पालीका शरीरमा निलडाम छन्। उनको टाउँकोको पछाडीबाट रगतसमेत आएको छ। उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमै मृत्यु भएको हो ।
मृतकका काका पदम सिंह पालीले प्रहरी नायब निरीक्षक हरिजित नाथमाथि रकम मागेको आरोप लगाएका छन्। उनले असार २ गते मात्र हरिजित नाथकै खातामा ८५ हजार रुपैयाँ ट्रान्सफर गरेको बताए। उनले भने, ‘हामीले ८५ हजार पठाएका थियौ। तर, त्यसपछि प्रहरीको वर्दीको आडमा उनीमाथि यति धेरै दमन गरियो कि शरीरभर निलडाम थिए, टाउकाबाट रगत बगेको थियो।’ यसअघि पनि हरिजितले महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखेर बार्गेनिङ गरेर छोडेका परिवारका सदस्यले आरोप लगाएका छन। प्रहरीले पालीलाई निजी सवारी प्रयोगमा डडेल्धुराबाट कैलाली ल्याइएको हो।
उनको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। शवमा कुटपिटको निलडाम रहेको भिडियोसमेत सार्वजनिक भएको छ। आफन्तहरूले सत्यतथ्य नखुलेसम्म र दोषीलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्। तर, कैलाली कारागारका जेलर वसन्त खत्रीले भने राति साढे १० बजेतिर शौचालयमा लडेको खबर सुरक्षा गार्डले गरेका बताएका छन्।
त्यसपछि कारागारमा कार्यरत अहेवलाई पठाइएको थियो। घटना गम्भीर देखिएपछि सेती अस्पताल लगिएको थियो। राति १२ः१५ मा उनको निधन भएको हो। पाली १ गते मात्रै कारागार आएका थिए।