डडेल्धुरा: मृत जन्मको चुनौती कायमै रहेको छ । यस वर्षको वैशाख महिनासम्म डडेल्धुरा अस्पतालमा डेलीभरी हुन पुगेकाहरु मध्ये २२ शिशु मृत जन्मिएका छन् । गत वर्षकोभन्दा यो सङ्ख्या कम भए पनि मृत जन्मदरको चुनौती कायमै रहेको छ । आर्थिक वर्ष २०७९/८० मा जन्मेकाहरु मध्ये २४ शिशु मृत जन्मिएका थिए । यो वर्ष दुई हजार १५८ शिशुको जन्म डडेल्धुरा अस्पतालमा भएको थियो । मृत जन्मदरको सङ्ख्या आर्थिक वर्ष २०८०/८१ मा बढेर ३८ पुगेको थियो । यो वर्ष एक हजार ८८१ शिशुको जन्म अस्पतालमा भएको थियो । चालुआर्थिक वर्षको वैशाख महिनासम्म एक हजार ६२८ शिशुले डडेल्धुरा अस्पतालमा जन्म लिएका छन् । यस वर्षका दुई महिना बाँकी रहेकाले मृत जन्मदरको सङ्ख्या बढ्न सक्ने स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशर साउदले बताए ।
उनका अनुसार मृत जन्मदरको चुनौती देशैभर छ । अस्वास्थ्यकर खानपिन, समयमै चेकजाँच नहुनु मृत जन्मदरको मुख्य चुनौती रहेको छ । प्लासेन्टको मुख्य चुनौती रहेको उनको भनाइ छ । प्लासेन्टबाट बच्चाले अक्सिजन पाउने हो । उनले भने, ‘‘बच्चा जन्मिनुभन्दा पहिले नै पाठेघरको भित्ताबाट प्लासेन्ट छुट्टिक्रम चाँडो सुरु हुन्छ र बच्चाले अक्सिजन पाउदैन । एउटा कारण यो हो ।’’ महिलाहरु लाई हुने विभिन्न संक्रमणका करण पनि मृत जन्म हुने उनको भनाइ छ । कतिपयमा जन्मजातका विकृतिहरु हुने हुन्छन । उनले भने, ‘‘मुटु, मष्तिस्कलगायतका भागहरु राम्रोसँग विकसित भएका हुँदैनन् । यस्तो अवस्था भयो भने जन्मिने क्रममा वा गर्भ रहेको २० हप्ता पछाडि बच्चाको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।’’
प्लासेन्ट र बच्चाको नाभिमा जोडिएको कम्व्लिकलकर्ड भन्ने एउटा पाईप हुन्छ । कहिलेकहीँ त्यो पाईप बच्चाको घाँटीमा बेरिने सम्भावना हुने र बच्चालाई सप्लाइ हुने अक्सिजन नपुगेपछि पनि बच्चाको मृत्यु हुने उनले बताए । धेरै कारणहरु हुन्छन । उनले भने, ‘‘३०–५० प्रतिशत थाहा नै नभइ मृत्यु भएको भन्ने छ ।’’