धनगढी: बुद्धजयन्तिको अवसरमा धनगढीको क्रेसेन्ट सिटि स्कुलका (ccs) कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले बुद्धमन्दिर परिसरमा सर्वसाधारणलाई सरबत वितरण गरेका छन् । उक्त रचनात्मक कार्यले विद्यार्थीसहित स्थानीयवासीमा सकारात्मक सन्देश प्रवाह गरेको छ । विद्यार्थीहरूले आफ्नै पहलमा सरबतको तयारी गरी बिहानदेखि सयौं श्रद्धालु र पैदलयात्रुलाई निशुल्क सरबत वितरण गरेका थिए ।

गर्मी मौसममा शीतल पेय पाउँदा दर्शनार्थीहरू खुसी देखिन्थे। कार्यक्रममा संलग्न विद्यार्थी गरिमा चौधरिले भनिन्, “हामीले अध्ययन मात्र नभई समाजमा केही योगदान पुर्याउन पनि आवश्यक छ भन्ने भावना बोकेका छौं। यस्तो सानो कामले पनि ठूलो खुसी मिल्दो रहेछ।” विद्यालयका शिक्षक तथा कार्यक्रम समन्वयकर्ता लोकेन्द्र चोखालले यस किसिमका क्रियाकलापले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वबोध जागृत गराउने विश्वास व्यक्त गरे । उनका अनुसार, “शिक्षा भनेको केवल किताबी ज्ञानमा सीमित हुनुपर्दैन । विद्यार्थीलाई समाजसँग जोड्ने यस्ता रचनात्मक गतिविधि अत्यन्त आवश्यक छन्।” बुद्धजयन्तिको सन्देश शान्ति र सेवा भएकाले त्यसलाई व्यवहारमा उतार्ने विद्यार्थीहरूको प्रयासले उदाहरणीय कार्यको रुपमा स्थान पाएको छ। स्थानीय अभिभावक तथा समाजसेवीहरूले पनि विद्यार्थीहरूको उक्त कार्यको प्रशंसा गर्दै यस्ता सकारात्मक गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने बताएका छन्।


