धनगढी । लागूऔषध कारोबार र सेवनमा संलग्न रहेको आशंकामा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ र विभिन्न प्रकारका ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ। शुक्रबार बेलुका धनगढी उप–महानगरपालिका क्षेत्रबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
धनगढी उ.म.न.पा–७, जोखरतालबाट ऐ.५ निवासी २३ वर्षीय छितिज सिंह र गोदावरी न.पा–३ निवासी २६ वर्षीय पंकज शाहीलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ र १५ ट्याबलेट स्पास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
यस्तै, धनगढी उ.म.न.पा–३, फिस रिसोर्ट नजिकबाट ऐ.४ निवासी २२ वर्षीया नागिन कान र २३ वर्षीय रिहान अहमदलाई ३३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको हो। उक्त कारबाही लागूऔषध नियन्त्रण ब्युरो, धनगढी शाखाबाट खटिएको प्रहरी टोलीले गरेको हो।
यस्तै, कञ्चनपुरमा पनि दुुई जनालाई पक्राउ गरिएको छ । शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरबाट सोही स्थानका ३४ वर्षीय गणेश बहादुर ऐर र ३२ वर्षीय बिक्रम बिष्टलाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ०.०९ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय, झलारीले जनाएको छ।
प्रहरीले सबै घटनाहरूमा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।


