बैतडी: नेपाली सेनाको श्रीबक्स गुल्मले बिहीबार बैतडीमा संयुक्त मनसुन प्रतिकार्य अभ्यास सञ्चालन गरेको छ । नजिकिँदो बर्खामा हुन सक्ने विपत्का घटनालाई ध्यानमा राख्दै पूर्वतयारीस्वरूप बैतडीमा रहेको श्रीबक्स गुल्मको आयोजनामा सञ्चालन गरिएको प्रतिकार्य अभ्यास गरिएको हो ।
अभ्यासमा जिल्लामा रहेका तीन वटै सुरक्षा निकायसहित रेडक्रस, स्थानीय तह तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । दशरथ चन्द नगरपालिका–५, सुन्दरखालीमा अभ्यास सञ्चालन गरिएको श्रीबक्स गुल्मका गुल्मपति सेनानी सफल थापाले जानकारी दिए । विपत्सँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला विपत् व्यवस्थापन समिति, नागरिक समाज, नेपाल रेडक्रस, जिल्लामा कार्यरत अन्य सुरक्षा निकाय, स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गरेर अभ्यास गरेको उनले बताए ।