कैलाली । कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार, भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँग खड्काको सम्पर्क पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले खड्काको पक्राउ पुष्टि गर्दै हाल अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न नसकिने जानकारी दिए।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको अगुवाइमा भारतमा सुन चोरी गर्ने र त्यसलाई नेपालमा खरिदबिक्री गर्ने गिरोहमाथि व्यापक अनुसन्धान शुरु गरिएको छ। यही क्रममा धनगढीका दुई जना सुनचाँदी व्यवसायी समेत नियन्त्रणमा लिइएको छ, तर उनीहरूको नाम अहिलेसम्म गोप्य राखिएको छ।