धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टिकापुर देखी सत्ती सम्म मर्निङवाक गर्दै तराई–मधेश जागरण अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका कार्यक्रम शुरु गरेका छन् । झापाबाट सुरु गरेको तराई–मधेश जागरण अभियान आज सुदुरपश्चिम पुगेको हो । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली हिजो अर्थात बैसाख १५ गते साँझ कैलाली पुगेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय पदाधिकारी लगायतको टोली बिहान सूर्यपुरदेखि सत्ती बजारसम्म मर्निङवाक गरेका थिए ।
बिहान ८ बजे टीकापुर–८ सूर्यपुरमा सहिद परिवार भेटघाट, ९ बजे देखि १० बजेसम्म वडा नम्बर ९ को झुंगामा जनसभा कार्यक्रम र ११ बजे कैलारी गाउँपालिका–५ वैसपुरमा सहिद परिवार भेटघाट कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ । साढे १२ बजे कैलारी गाउँपालिका–५ वैसपुरमा जनसभा,दिउँसो साढे २ बजे सम्म धनगढी उपमहानगरपालिकाको डिपोबजारमा सहिद परिवार भेटघाट र साढे ३ बजे धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम रहेको छ ।
त्यसपछि अभियान टोली हुलाकी राजमार्ग हुँदै कञ्चनपुर जाने छ । आज साँझ साढे ५ बजे अभियान टोलीलाई कञ्चनपुरका लागि धनगढी भन्सारबाट बिदाइ गरिने छ । १६ गते साँझ पुनर्वास नगरपालिका–११ डोकेबजारमा अभियान टोलीलाई स्वागत र गुम्बा निरीक्षण तथा पुनर्वास नगरपालिकाको कार्यालयमा स्वागत भेटघाट गरी वडा नम्बर २ मोतिबस्तीमा बास बस्ने तयारी छ ।
भोलि बिहान पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा मर्निङवाक गर्ने छन् । ७ देखि ८ बजेसम्म मोतिबस्तीस्थित सहिद स्मृति सभा हलमा सहिद परिवार भेटघाट,साढे ९ देखि १० बजे बेलौरी नगरपालिका–५ स्थित रामनगर खानेपानी उद्घाटन, सहिद सालिक माल्यार्पण तथा सोभाताल अवलोकन र १०ः१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभा हलमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
१७ गते दिउँसो १ बजेदेखि साढे १ बजेसम्म बेलडाँडी गाउँपालिकाको चौवन्नी बजारमा भेटघाट र २ देखि साढे २ बजेसम्म बेदकोट सामादैजी हुलाकीमार्ग पश्चिम प्रवेशद्वारमा अवलोकन, सहिद परिवार भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
वैशाख १७ गते साढे ३ बजेदेखि ५ बजेसम्म भीमदत्त नगरपालिका–४ स्मारक चोकमा अभियान समापन कार्यक्रम रहेको छ ।त्यसपछि अध्यक्ष प्रचण्ड कार्यक्रम सकेर काठमाडौं फर्किने छन् । अभियानमा अध्यक्ष प्रचण्ड सहित बरिष्ठ उपाध्यक्ष नारायणाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, नन्दकिशोर पुन, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल लगायतको सहभागिता रहेको छ ।


