कञ्चनपुर — भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली तार काटेर खम्बा उखेल्दैछन् । फलामको उक्त खम्बा उखेलेर घिसार्दै लगिँदैछ । नजिकै रहेका नेपाली प्रहरीसंगै स्थानीयमाथिसमेत औंला ठड्याउँदैछन् । दुवै पक्षबीच चर्को विवाद पनि भइरहेको छ । सोमबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको यो दृश्य कञ्चनपुरको पुनर्वास नगरपालिका ९ बिचफाँटाको हो । ७ वर्षघिको २०७५ बैशाख १३ मा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने हात्ती लगायतका वन्यजन्तुबाट अन्नबाली जोगाउन विद्युतीय तारबार लगाउँदा एसएसबीले अवरोध गरेको थियो । त्यही भिडियो अहिले भाइरल भइरहेको हो ।
‘त्यतिबेला वडा र स्थानीयले पैसा संकलन गरेर विद्युतीय तारबार लगाउँदा एसएसबीले अवरोध गरेको थियो,’ तत्कालीन वडाध्यक्षसमेत रहेका बीचफाँटाका स्थानीय नारायण प्रसाद जैशीले भने, ‘प्याराताल नजिक नजिक पुग्दा एसएसबीले खम्बा नै उखेलेर लगेको हो ।’ उनका अनुसार वडा कार्यालय र स्थानीयले संकलन गरेको रकमबाट ३२ सय मिटरमा विद्युतीय तारबार लगाउने योजना बनेको थियो । त्यही अनुसार ३ हजार मिटरमा काम भइसकेको थियो । २ सय मिटरमा काम गर्दा विवादित क्षेत्र भन्दै अवरोध भएको हो । भारत उत्तर प्रदेशको लख्खिमपुर खिरी जिल्लामा पर्ने घोला पोष्टका एसएसबीको टोलीले सीमाममै आएर तार र खम्बा दुवै लगेका हुन् । वडा कार्यालयको ३ लाख र स्थानीयबाट सीमासँग ४ देखि ८ हजार संकलन गरेर विद्युतीय तारबार लगाउने काम भएको हो । जैशीका अनुसार एसएसबीले अवरोध गरेको २ सय मिटरमा अहिले पनि तारबार लगाउन सकिएको छैन ।
जैशीका अनुसार तारबारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमले सोलार र ब्याट्री सहयोग गरेको थियो । उक्त विवादपछि २०७६ माघमा सशस्त्र प्रहरीको बिओपी पनि स्थापना भएको छ । उक्त क्षेत्रमा लामो समयदेखि सीमा विवाद छ । साविकको १९५ (७६३) नम्बर सीमा स्तम्भ र प्याराताल क्षेत्रमा जंगलको बीचमा ढलेको अवस्थामा छ ।
तर भारतीय पक्षले उक्त सीमा स्तम्भ हराएको भन्दै विवाद गरिरहेको स्थानीय बताउँछन् । यही कारणले मुख्य सीमा स्तम्भ १९४ देखि १९५ सम्म विवाद भन्दै तारबार लगाउनसमेत अवरोध गरेको हो । ‘पछिल्लो समय त्यस्तो विवाद भएको छैन, भाइरल भएको विवाद पुरानो हो,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने, ‘अहिले उक्त क्षेत्रमा सशस्त्रको बिओपी स्थापना भइसकेको छ ।’कान्तिपुरबाट


