धनगढी: नेपालीहरुको दोश्रो ठुलो पर्व दिपावली शुरु भएको छ । फुलहरुको पर्व भनेर चिनिने तिहारमा पछिल्लो समय प्लास्टिकका फुलको प्रयोग घट्दै छ । आयातित प्लास्टिकका फुल भन्दा स्थानिय उत्पादिन फुलका माला प्रयोग बढ्न थालेको छ । स्थानिय सरकारले प्लास्टिकका माला बिक्रि वितरणमा प्रतिबन्ध लगाएपछि फुल खेती गर्ने किसानलाई बजार पाउन सहज भएको छ । कृषी बिज्ञानमा स्नातक गरेका कबिन्द्र बमले कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ स्थित आफ्नै जमिनमा फुल खेती गरेका छन् । शिक्षण पेषामा आबद्ध कबिन्द्र विदाको समयलाई सदुपयोग गर्दै बिगत ३ बर्षदेखी फुलखेती गर्दै आएका छन् । कृष्णपुर ३ देखतभुलीका स्थाई बासिन्दा रहेका बम आफुले पढेको क्षेत्रलाई ब्यवहारमा लागु गर्नुपर्छ भन्ने सिद्धान्त अनुसार फुलखेतीमा लागेका हुन् । तिहारका बेला घरमा अथवा मानिसको घाँटीमा प्लास्टिकको माला लगाइनु हुन्न भन्ने उद्देश्यका साथ गाउँमै उनले फुलखेती शुरु गरेका थिए । गाउँ गाउँमा समेत प्लास्टिकका फुल र मालाको प्रयोग हुन थालेपछि बमले करिब आधा बिगाहा आफ्नै जमिनमा फुल खेती गरेका थिए । पहिलो बर्ष राम्रै फुल बिक्रि गरेका बमको खेती गत बर्ष फस्टाउन सकेन । यस बर्ष बमले ४ कठ्ठा जमिनमा फुलखेती गरेका छन् । उनले कृष्णपुर नगरपालिका क्षेत्र सगैं अत्तरिया र धनगढीसम्म फुल बिक्रि गर्ने गरेका छन् ।
थोरै लगानीबाट फुल खेती शुरु गरेको हुँ कबिन्द्रले भने “गत बर्ष फुल बिग्रियो त्यस कारण यो बर्ष कम लगाएको छु, बजारमा बिक्रि ठिकै छ, तर गाउँमा अँझै प्लास्टिक फुल लाउनुहुन्न बन्ने चेतनाको बिकास भइसकेको छैन, यो चेतनाको बिकास भए यसै क्षेत्रमा फुलबाट राम्रो आम्दानी गर्न सकिन्छ ।” कबिन्द्र जस्तै कृष्णपुर नगरपालिकाका ३ जना किसानले ब्यवसायिक फुल खेती गरेका छन् । जसबाट स्थानिय क्षेत्रमा प्लास्टिकका फुल र मालाको प्रयोग पनि घट्दै छ । पछिल्लो समय स्थानिय क्षेत्रमै उत्पादन भएका फुलको माग बढ्दो छ । तर ग्रामिण क्षेत्रमा फुल बिक्रि गर्न तिहार कुर्नुपर्ने बाध्यता कायम छ । बर्षै भरी फुल बिक्रि गर्ने खालको वातावरण भए फुलमै राम्रो भविश्य रहेको कबिन्द्र बताउँछन् । स्थानिय सरकारले चिस्यानको ब्यवस्था गरिदिए बर्षभरी फुल राख्न सकिने उनको भनाई छ । यसका साथै हरेक कार्यमा खादा र प्लास्टिकको माला प्रतिबन्ध लगाए फुलको खेती बढ्नुका साथै फुलबाटै धेरै युवाहरु आत्मनिर्भर बन्न सकिने उनले बताए ।
फुल खेती गर्ने किसानका मागलाई सम्बोधन गर्दै यस पटकको तिहारमा कृष्णपुर नगरपालिकाले प्लास्टिकका फुल र मालालाई प्रतिबन्ध लगाएको छ । यसका साथै ब्यवसायिक फुलखेती गर्ने किसानका लागी नगरपालिकाले तालिम सगैं अनुदानका कार्यक्रम समेत ल्याएको मेयर हेमराज ओझाले बताए । नगरपालिकाले बर्षैभरी फुल बिक्रि गर्ने वातावरण मिलाउन केही ठाउँमा चिस्यान केन्द्र बनाउन बजेट बिनियोजन गरिसकेको उनले बताए । आगामी बर्षदेखी चिस्यान केन्द्रले सेवा दिने र नगरभरी फुल खेती बढ्ने उनको भनाई छ ।
पछिल्लो स्थानिय सरकारले प्लास्टिक प्रतिबन्ध गरेपछि समय प्लास्टिकका फुल र माला भन्दा स्थानिय ठाउँमै उत्पादन भएका फुलको प्रयोग बढ्दै छ । जसका कारण फुल खेतीमा आकर्षण पनि बढ्दै छ । तर बर्षै भरी फुल बिक्रि गर्ने गरी स्थानिय तहले प्लास्टिकका फुल, माला र खादा लाई पुर्ण रुपमा प्रतिबन्ध लगाउन जरुरी छ ।