बाजुरा: गत असारको पहिलो सातादेखि अवरुद्ध बाजुराको मार्तडी–कोल्टी सडक अझै सञ्चालनमा आएको छैन । सडक सञ्चालनमा नआउँदा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली, जगनाथ, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिका लगायतका स्थानीयलाई यसपालिको दसैँ खल्लो हुने कि भन्ने निकै चिन्ता परेको छ । पहिला बाटो खुल्छ र स्याउ बिक्री गर्न बजार लान्छु भन्ने सोच गरेको थियो । स्याउ पाक्यो तर बाटो खुलेन, बुढीनन्दा नगरपालिका – ९ का रामबहादुर रोकायाले गुनासो गरे।
उनले भने, “विगतका दिन देखि अहिले सम्म यहाँका स्थानीयलाई बाटोकै समस्या हुने गरेको छ । हिउँदका महिना केही दिन बाटो खुल्छ । बर्खा लाग्छ त्यसपछि फेरि बाटो बन्द हुन्छ । सडक बन्द भएको झण्डै पाँच महिना पुग्यो । गाउँमा दसैँ आइगयो बाटो भने अहिलेसम्म खुल्याको नाइँ । बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा तथा छिमेकी जिल्ला र हुम्ला कालिकोट लगायतका स्थानीयले दसैँको बेला मार्तडी–कोल्टी सडक देखि पनि दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने गर्दछन् । लामो समयदेखि बाटो बन्द भएकोले यहाँका स्थानीयलाई दसैँ अगावै सो सामग्री कसरी गाउँमा लैजाने निकै चिन्ता छ । उसो त बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकांश ग्रामीण सडक पनि अस्तव्यस्त छन् ।