धनगढीः सुदुरपश्चिममा साउनयता मात्रै बाढी र पहिरोबाट ७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक बर्षको हालसम्म ५ महिला र दुई पुरुषले बाढी तथा पहिरोबाट ज्यान गुमाएका हुन् । सो अवधीमा ८ महिला र ८ जना पुरुष गरी १६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रदेशमा दुई महिने अवधीमा मात्रै ४७ बाढी र पहिरोका घटना घटेका छन् । पहिरोबाट मात्रै १ सय २ घर परिवार प्रभावित भएका छन् । पहिरोका कारण ६ घर आंशिक र ५ घर पूर्ण रुपमा क्षति भएको प्रदेश सरकारको आतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ। पहिरोकै कारण ३ गोठ भत्किएर ३१ पशुचौपायामा क्षति पुगेको छ। यसबाट २ लाख २५ हजार मुल्यको भौतिक क्षति समेत भएको छ।
बाढीबाट चार सय ९ परिवार प्रभावित बन्न पुगेका छन्। विहिबार रातिदेखि शुक्रबार दिउँसोसम्म परेको वर्षापछि महाकालीसँगै अन्य नदीनालामा आएको बाढीका कारण आधा दर्जन बस्तीका एक सय बढी परिवार विस्थापित बन्न पुगेका छन्। कञ्चनपुरको दोधारा–चाँदनी, भीमदत्त र पुनर्वास नगरपालिकामा नदीनालाको बाढी बस्तीमा पसेका कारण स्थानीय विस्थापित बन्न पुगेका हुन्।कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित दोदा नदीको बाढी बस्तीमा पस्दा ४५ परिवार विस्थापित भएका छन् । यसैगरी महाकालीको बाढीले भुजेला खोलाको पानी रोकिँदा भीमदत्त नगरपालिका–११, १२ र १३ मा ३० परिवार विस्थापित भएका थिए।
महाकालीकै बाढीले जोगबुडा नदीको बहाव रोकेपछि दोधारा–चाँदनी नगरपालिका–१० का कुतियाकभर, शान्ति टोल, निशानी टोल, बैदी फाँटा, वडा ८ का सुन्दरनगर र वडा ३ को पटेरा खल्लाका गरी करिब ६० परिवार विस्थापित भएका छन्। कैलालीमा बाढीको जोखिममा परेका ६ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ। जोखिममा परेका एक सय ६२ घरका ६ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएकोे हो । जिल्लाको पथरिया, कटैनी, काँडालगायतका नदीमा गएको बाढीका कारण जानकी गाउँपालिका–४ सुकम्वासी टोल, कैलारी गाउँपालिका–७ वसन्ता, जोशीपुर गाउँपालिका–३ भितरीया, कैलारी–५ मनिकपुर, भजनी नगरपालिका–८ र ३ अन्तर्गतका स्थान डुबानमा परेका थिए।
३४ जनालाई जानकी गाउँपालिका–४, ९४ जनालाई जानकी गाउँपालिका–७ फरेला, चार सय जनालाई टीकापुर नगरपालिका–८ वनगाउँस्थित सुरक्षित स्थानमा सारिएको हो। यस्तै, ११ जनालाई जोशीपुर गाउँपालिका–३ भितरियास्थित जनहित सामुदायिक वनको भवन, ७७ जनालाई भजनी नगरपालिका–९ कुणी खुरखरिया स्थित गुप्तेश्वर आधारभुत विद्यालयमा सारिएको थियो। ८ जनालाई कैलारी गाउँपालिका–५ स्थित सुरक्षित घरमा, चार जनालाई गोदावरी नगरपालिका–११ स्थित लालमणी पनेरु, ८ जनालाई सोही स्थानका राधिका ढोली र मधुरा दमाईको घरमा सारिएको छ। जिल्लामा ६ सय परिवारका दुई हजार सात ८२ व्यक्ति बाढीबाट प्रभावित भएका छन्।


