बेल्डाँडी: कञ्चनपुरको बेल्डाँडीस्थित चौधर नदीमा बाढी आउँदा बस्तीमा पानी पसेको छ । चौधर नदीमा बाढी आउँदा गत साउन अन्तिमतिर महाकाली सिँचाइको शिवनगर मेन नहर भत्किएर बस्ती पसेको थियो । अहिले सोही भत्किएको नहरबाट बेल्डाँडी गाउँपालिका-५ भुर्सामा चौधर नदी पुनः बस्ती पसेको हो । बुधबार रातीदेखि परेको अविरल वर्षाले चौधर नदीमा पानीको बहाब बढ्दा आज दिउँसोदेखि कटान भएको ठाउँबाट बस्तीमा पानी पसेको बेल्डाँडी गाउँपालिका-५ का अध्यक्ष इन्द्र खड्काले बताए । अध्यक्ष खड्काका अनुसार अहिले साउन अन्तिमतिर फुटाएको नहरबाट नदीको बाढी बस्तीतिर पसेको छ । नदी बस्तीमा पस्दा बेल्डाँडी-२ र ५ नम्बर वडाको सिमानामा रहेका खल्ला क्षेत्रमा २० भन्दा बढी घर डुबानमा परेका छन् ।
चौधर नदी बस्ती पस्दा बेल्डाँडी गाउँपालिकाका ५ वटै वडा र बेलौरी नगरपालिका-८,९ र १० नम्बर वडा डुबानको जोखिममा छन् ।


