धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ हजार बाँसका बिरुवा रोप्ने भएको छ। मङ्गलवार बाँस रोप्ने अभियानको सुरुवात गरिएको छ। उपमहानगरभित्रका चार वडाको नदी तटीय क्षेत्रमा बाँसको बिरुवा रोपिन लागिएको हो। नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गर्न बाँस रोप्न लागिएको छ। मोहना र खुटिया नदीको तटिय क्षेत्रमा बाँस रोपेर जैविक तटबन्धन निर्माण गर्ने र स्थानीयको आयआर्जनमा टेवा पुगाउने लक्ष्य राखिएको छ।
बाँस हुर्किएपछि स्थानीयले बाँस प्रयोग गरेर विभिन्न सामग्री बनाउन पाउने र बिक्री गरेर आर्थिक लाभ समेत लिन पाउने उपमहानगरले जनाएको छ। उपमहानगरले चालु आर्थिक वर्षमा नदीको किनार ३० किलोमिटर क्षेत्रमा ६ हजार बाँस, ६ हजार ६ सय अम्रिसो र ६ हजार ६ सय नेपियरका बिरुवा रोपेर जैविक तटबन्धन गरिने जनाएको छ। मङ्गलवार धनगढीका चार वडाको नदी तटिय क्षेत्रमा ६ हजार बाँसका बिरुवा रोप्ने अभियानको थालनी गरिएको छ। उपमहानगरको वडा नम्बर ७, १२, १५ र १७ भएर बग्ने खुटिया र मोहना नदी किनारमा जैविक तटबन्ध निर्माण गरी कटान रोक्न ३० किलोमिटर क्षेत्रमा बाँसको बिरुवा रोप्ने नगर प्रमुख गोपाल हमालले बताए।
उनले नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गर्न बाँसको बिरुवा रोप्न थालिएको बताए। ‘कटानको समस्या रोक्न र जैविक तटबन्धन निर्माण गर्न ६ हजार बाँसको बिरुवा रोप्ने अभियान थालिएको हो’, उनले भने, ‘खुटिया र मोहना नदी किनारको ३० किलोमीटर लामो तटिय क्षेत्रमा चाँप प्रजातिको बास रोप्न थालिएको हो।’ उपमहानगरले नदी किनारमा रोपेको चाँप प्रजातिको बाँसबाट विभिन्न किसिमका सामग्री बनाउन मिल्ने र स्थानीय बाँस प्रयोग गर्न मिल्ने नगर प्रमुख हमालले बताए। उनले बाँस रोप्ने काम उपमहानगरले गरे पनि प्रयोग र उपभोग भने स्थानीयले गर्न पाउने बताए।
‘बाँस रोपेर नदी कटान रोक्नुका साथै स्थानीयले आयआर्जन गरुन् भन्ने मनसाय उपमहानगरको छ’, उनले भने, ‘बाँसको बजारमा माग भएको र स्थानीयले विभिन्न सामग्री बनाए बिक्री गर्ने र आर्थिक लाभ लिन सक्नेछन् भन्ने उदेश्य राखिएको छ। उपमहानगरले स्थानीयलाई बाँसका सामग्री बनाउने तालिमसमेत दिनेछ।’