धनगढी: गत वर्षको माघ पहिलो साता बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भयो । जोशीको क्यान्सरका कारण निधन भएको थियो । उनी २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गाउँपालिकामा ८ महिनादेखि उपाध्यक्षको पद रिक्त छ । यस्तै, एमालेबाट निर्वाचित बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष सर्जन बोहराको जेठ २०८० मा, कांग्रेसबाट निर्वाचित डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा, माओवादी केन्द्रबाट निर्वाचित दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोरथ भट्टको असार २०८० र कांग्रेसबाट निर्वाचित भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको पुस २०८० मा निधन भएको थियो । चारवटै वडामा वडाध्यक्षको पद रिक्त छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा २ मा उपनिर्वाचनको व्यवस्था गरिएको छ । ‘जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ,’ उक्त दफामा भनिएको छ ।
तर, एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा भने उपनिर्वाचन हुँदैन । सुदूरपश्चिममा रिक्त एक उपाध्यक्ष र चार वडाध्यक्षको पदावधि एक वर्षभन्दा बढी बाँकी छ । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टका अनुसार प्रदेशमा पाँच जनप्रतिनिधिको पद रिक्त रहेको र अहिले मतदाता नामावली दर्ताको काम भइरहेको छ ।
‘निर्वाचन आयोगले मिति घोषणा गरेपछि मतदाता नामावली दर्ताको काम बन्द हुन्छ,’ उनले भने, ‘त्यसपछि उपनिर्वाचनको तयारी हुन्छ ।’ मतदाता नामावली ऐन, २०७३ को दफा ४ ९२० बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगले असोज पहिलो साता उपनिर्वाचनको मिति तोकेर मंसिरमा उपनिर्वाचन गर्ने तयारी थालेको छ । यसअघि सुदूरपश्चिममा एक प्रदेशसभा सदस्यको पद पनि रिक्त थियो । कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ प्रदेशसभा १ (१) रिक्त भएको थियो । तर, उक्त क्षेत्रमा गत १५ वैशाखमा उपनिर्वाचन भइसकेको छ । उपनिर्वाचनमा एमालेका दमन भण्डारी निर्वाचित भएका थिए ।


