धनगढी : जिल्ला प्रहरी कार्यालय, कैलालीको कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीको मोबाइल थुत्ने गरिएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रवेशद्धवारमा सेवाग्राहीले मोबाइल छोड्नुपर्ने नयाँ नियम लागु गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरीक्षक पदमबहादुर विष्ट हाजिर भएपछि सेवाग्राहीको मोबाइल खोस्न सुरु गरिएको थियो। सेवाग्राही तथा धनगढीका पत्रकारहरूले उक्त विषयमा असन्तुष्टि जनाएका थिए। तर, जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रवेशद्वारमा मोबाइल दिएर कार्यालय प्रवेश गर्नुपर्ने बाध्यताको अन्त्य भएको छैन्। नेपाल पत्रकार महासङ्घ, कैलालीका अध्यक्ष हिमालय जोशीले जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टलाई भेटेर उक्त गुनासो राखेको बताए।
उनले भने, ‘पत्रकार साथीहरूले पनि जिल्ला प्रहरीको गेटमा मोबाइल छोड्नु पर्ने रहेछ। हामीले एसपीलाई भनेका थियौ। प्रहरीमा दिनुपर्ने प्रमाणहरूसमेत फोनमा हुने हामीले बताएका थियौ। उहाँले गेटमा मोबाइल छोड्नुपर्ने नियम हटाउछु भन्नु भएको छ।’ जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विष्टले महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखाबाट तस्विर तथा भिडिओहरू बाहिरीएकाले कार्यालयमा सेवाग्राहीलाई फोनमा प्रतिबन्ध गरिएको बताएका थिए। नेपाल प्रहरीको हेटक्वाटरको जस्तै जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रवेशद्वारमा फोन थुतेर राख्ने गरिएको हो।