टीकापुर: सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भएपछि टीकापुर बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीको शुल्क घटेको छ भने छात्रवृत्ति पनि पाउन थालेका छन् । विसं २०५८ मा समुदायले स्थापना गरेको टीकापुर बुहमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा थियो भने अहिले सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भएको छ । क्याम्पसले स्नातकोत्तर तहको तीन वटा सङ्कायको पहिलो सेमेस्टरमा अध्ययन गरिरहेका १३९ जनामध्ये क्याम्पसबाट ३६ र विश्वविद्यालय अनुदान आयोगबाट ११ गरी ४७ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । यस्तै स्नातक तहको पहिलो सेमेस्टरमा अध्ययनरत चार वटा सङ्कायमा १५६ अध्ययनरत विद्यार्थीमध्ये क्याम्पसबाट ४७ र विश्वविद्यालय अनुदान आयोगबाट ५३ गरी एक सय जनाले छात्रवृत्ति पाएका छन् ।
एमबिएस पहिलो सेमेस्टरमा अध्ययनरत छात्र तपेन्द्र अयडी आफूले जेहेनदार कोटामा ५० प्रतिशत शुल्क बराबरको छात्रवृत्ति रकम पाएको बताए । बिबिए पहिलो सेमेस्टरमा अध्ययनरत छात्रा वैष्णवी रावलले एक सेमेस्टरको शिक्षण शुल्क २३ हजार रहेकोमा १५ हजार छात्रवृत्ति मिलेको बताए । बिए प्रथम वर्षका छात्र दीपक चौधरीले शिक्षण शुल्क ३३ प्रतिशत छात्रवृत्ति पाएको बताए ।
टीकापुर बुहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा समायोजनपछि न्यून शुल्कमा गुणस्तरीय शिक्षा सम्भव भएको छ । “पहिले चार प्रतिशतलाई छात्रवृत्ति दिँदै आएकोमा अहिले जम्मा भर्ना विद्यार्थी सङ्ख्याको २५ प्रतिशतलाई शिक्षण शुल्क पूरै छुट दिइन्छ । केहीलाई विश्वविद्यालय अनुदान आयोगले छात्रवृत्ति दिइरहेको छ,” क्याम्पस प्रमुख ढवीन्द्र रावल भन्छन्, “वर्षमा चार करोड तलब आउँछ । चार जना पिएचडी र आठ जना एमफिल पूरा गरेका र ११ जना पिएचडी गरिरहेकाले हरेक सङ्कायको शिक्षाको गुणस्तर पनि बढ्दै छ ।”
टीकापुर बहुमुखी क्याम्पस पूर्वविद्यार्थी समाजका उपाध्यक्ष ईश्वर साउदका अनुसार सामुदायिक क्याम्पस हुँदा फाट्टफुट्ट मात्रै दिइने छात्रवृत्ति सरकारी भएपछि शुल्क घट्नुका साथै छात्रवृत्ति दिइने सङ्ख्या बढ्दा विद्यार्थीलाई राहत र प्रोत्साहन दुवै भइरहेको छ । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा हरेक वर्ष एक सय जना भर्ना भइरहेका छन् भने डिनको कार्यालयसमेत टीकापुरमा रहेको छ ।