टीकापुर – कैलालीको टिकापुर स्थित सत्ति भन्सार कार्यालय परिसरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल गायव भएको छ । शनिबार राति सशस्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको भे १० प ९९१ नम्बरको पल्सर मोटरसाइकल आइतबार राति गायव भएको हो । शनिबार भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेको कपडा सहित ७ वटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको थियो । जसमध्ये एउटा मोटरसाइकल आइतबार राति गायव भएको छ । सत्ति भन्सारका अनुसार पक्राउ गरिएका ७ वटा मोटरसाईकल र कपडाको मूल्य १२ लाख ९८ हजार ३ सय बराबर रहेको छ । प्रहरीले कुनै व्यक्तिलाई भने पक्राउ गर्न सकेको थिएन ।
आइतबार राति करिब ३ बजेतिर ४/५ जनाको समुहमा आएर भन्सारको पछाडिबाट तार नाघेर मोटरसाइकल लिएको सिसि क्यामेराबाट देखिएको सत्ति भन्सारका नायब सुब्बा पदम भट्टले बताए । उनले भने ‘रातिको समयमा भन्सार परिसरमा राखेको मोटर साइकल लिने व्यक्तिको पहिचान र खोजि कार्य भैरहेको र यसबारे यातायात व्यवस्था कार्यालय धनगढी र नेपाल प्रहरीको हेडक्वाटरमा समेत जानकारी गराइनेछ ।’


