बाजुरा :बाजुराको बडिमालिका नगरपालिका(७ जिल्लास्थित लक्ष्मी मा।वि पहिरोको उच्च जोखिममा छ । बर्खाको समय सो विद्यालयको तलमाथि तथा वरपरबाट पहिरो लाग्न थालेपछि विद्यालय पहिरोको उच्च जोखिममा रहेको हो । हिउँदको महिना राम्रोसँग सञ्चालन हुँदै आएको लक्ष्मी माविमा यतिबेला भने यहाँका शिक्षक डरैडरमा बालबालिकालाई पढाउन बाध्य छन् । पानी परेको समयमा विद्यालयमा पहिरो जाने भएकाले कक्षा कोठामा बसालेर बालबालिकाहरूलाई पढाउन निकै डर हुन थालेको विद्यालयले जनाएको छ ।
पानी परेकोबेला धेरै ठाउँमा दिउँसै ठुलठुला पहिरो गएर गाई गोरु च्यापिएर मरेका छन् भने कयौँ मानिस पनि घाइते भएका छन् । यो विद्यालय पनि पहिरोको उच्च जोखिम छ । कुन दिन पढ्ने बेलामा नै विद्यालय पहिरोमा परिणत भएर पढ्दापढ्दै ज्यानै जाने हो की भन्ने मनमा निकै डर हुने गरेको बडिमालिका नगरपालिका–७ जिल्लीमा रहेको लक्ष्मी माविका कक्षा १० का छात्रा रमिला विकले बताए ।
उनले भने, “हिउँदको महिना पानी नपर्ने भएकोले बाहिर बसेर पनि पढाउने गरेका छौँ । बाहिर बसेर पढौँ पानीले भिजाउँछ भन्ने डर भित्र बसे बाढीपहिरोले विद्यालय नै बगाऊँ छकी भन्ने डर छ ।” यो विद्यालयलाई अन्य सुरक्षित ठाउँमा स्थानान्तरण नगर्दा सम्म डरैडरमा पढ्नुपरेको छात्रा विकले बताए।
मार्तडी–कोल्टी सडकको छेउछाउमा विद्यालय पर्छ । २०७८ साल असोज महिनामा जब डोजरले यस विद्यालयको नजिकको सडक मर्मत गरियो तब त्यसपछि यो विद्यालयको वरिपरिबाट पनि पहिरो जान सुरु भएको लक्ष्मी माविका प्रधानाध्यापक लालचन्द्र जैसीले बताए । उनले भने, “चारै ठाउँबाट पहिरो आएपछि यतिबेला विद्यालय निकै जोखिममा छ । विद्यालय सञ्चालन गरौँ, पहिरोको डर । नगरौँ बालबालिकाहरूको पढाइ अवरोध हुने । यता सरोकारवाला निकायले पढाइ गर्नु पर्ने भन्छन् । उता बालबालिकाहरूलाई केही भयो भने तिमीले नै जान्नु पर्छ अभिभावक भन्नुहुन्छ ।”