धनगढी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन्। उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरिन्।
ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताइन्।
कमला ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट गरिएको छ।
यदि उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरिन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन्।
राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राखी कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेका हुन्।
कमला ह्यारिस शुक्रबार दिउँसो २ हजार ३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन्।