धनगढी : गेटा स्थित मोहना पुल–अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी धनगढी उपमहानगरपालिका–११ बरबट्टाकी ३५ वर्षीया कुमारी चौधरी मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका छन् । माइती जान ति महिला सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन् । मापसे गरेका रिक्सा चालक गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले तीव्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लैजान खोजेका थिए ।
सोही क्रममा आत्तिएर चौधरीले हाम फालेकी थिइन् । उनलाई सडकमा अलपत्र अवस्थामा फेला पारेपछि प्रहरीले अस्पताल पु¥याएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।प्रहरीले अनुसन्धानको क्रममा अटो चालक र अटोमा सवार उनका साला २३ वर्षीय कालु दमाईलाई पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
ती महिलाले अटोबाट हाम फालेपछि फसिने डरले भागेको बयान उनीहरूले दिएको प्रहरीले जनाएको छ ।


