धनगढी : कैलालीको गोदावरी नगरपालिकामा पर्ने अत्तरिया क्षेत्र जुवाडेहरुको अड्डा बन्दै गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीको तथ्याकं अनुसार अत्तरिया क्षेत्र जुवाडेहरुको अड्डा बन्दै गएको हो । अत्तरियाका बिभिन्न होटेल, सघं, संस्थाका कार्यालयमा समेत जुवा खेलाउने गरिएको प्रहरीको रिपोर्टमा उल्लेख छ । इलाका प्रहरी कार्यालय मालाखेतीले गत आर्थिक बर्षमा मात्रै १९ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले दुई लाख ३० हजार ८५५ नगदसहित १९ जना जुवाडेहरुलाई जुवाखालबाटै पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रमुख गंगाबहादुर थापाका अनुसार बैसाख, जेठ र असार महिनामा मात्रै एक लाख ५५ हजार २ सय नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेर कानुनी कारबाही गरिएको छ । यि तिन महिनामा अत्तरियामा रहेको रेडसन प्लाजाबाट जुवा खेलिरहेका ५ जना पक्राउ पर्नुका साथै १ लाख ५५ हजार २ सय नगद बरामद गरिएको हो । २०८० असोजमा प्रहरीले गोदावरी नगरपालिका–४ बास्कोटाबाट ५ जुवाडेलाई पक्राउ गरेको थियो । स्थानिय लोक बहादुर खड्काको पसलमा जुवा खेलिरहेका, ५५ वर्षीय मनिराज महता, ५२ वर्षीय अर्जुन खत्री, ४२ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका थिए । ३७ वर्षीय तेजबहादुर खड्का र गोदावरी नगरपालिका–१ का ४० वर्षीय लोकेन्द्र नाथ समेत जुवाखालबाटै पक्राउ परेको प्रहरी तथ्याकंमा उल्लेख छ । उनिहरुको साथबाट ३ गड्डी तास र नगद २० हजार ५७० रुपैयाँ बरामद गरिएको थियो ।
२०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।


