कञ्चनपुर — असार तेस्रो साता आएको अविरल वर्षा पछिको बाढी र डुबानका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वन्यजनतु समेत प्रभावित भएका छन् । चौधरी नदीको बाढी निकुञ्जभित्र पस्दा थुप्रै वन्यजन्तुहरु डुबानमा परेको निकुञ्जको प्रारम्भिक अनुमान छ । चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर मरेका वन्यजन्तु । तस्बिर स् सौजन्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ।
चौधर नदीसँगै जोडिएको निकुञ्जको लालपानी, राधापुर र मोहनपुर क्षेत्रमा डुबानमा परेर ४ वटा लघुना र १ चित्तल मरेको अवस्थामा भेटिएको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए । अन्य क्षेत्रमा पनि बाढीका कारण वन्यजन्तुहरु प्रभावित भएको उनले बताए । ऐरका अनुसार लालपानी क्षेत्रमा ८र१० गाई गोरु समेत मृत भेटिएका छन् ।
‘छ फिटसम्म पानी पुगेको देखियो, धेरै वन्यजन्तु प्रभावित भएका छन्,’ ऐरले भने, ‘सबै ठाउँमा पुग्न सकिने अवस्था पनि छैन, बाढीर डुबानले बाटो पुलहरु समेत बगाएको छ ।’ उनका अनुसार निकुञ्जभित्रका विभिन्न नदी नालामा रहेका एक दर्जन काठे पुल र एक पक्की पुल बगाएको छ । जसका कारण अनुगमन तथा गस्ती गर्न समेत समस्या भएको छ ।
चौधर नदी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर बग्ने गरेको छ । सोही नदीमा तीन महिनाअघि चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रबाट ल्याइएका २५ घडियाल गोही समेत छाडिएको थियो । घडियाल गोहीको अवस्थाबारे पनि केही जानकारी नभएको संरक्षण अधिकृत ऐरले बताए । गोहीको अवस्थाबारे पनि एकरदुई दिनमै अनुगमन गरिने उनले बताए । डुबान भएका बेला बाह्रसिंगाको बथान साल वन भएको उचो स्थानमा आएको पाइएको उनले बताए । बाह्रसिंगाको बासस्थान रहेको शुक्लाफाँटा घाँसे मैदान नजिक महाकाली नदीको भंगालो बग्ने गरेको छ । महाकाली नदीले निकुञ्जको वन क्षेत्र वर्षेनि कटान गर्दै आएको छ ।
बिहीबार निकुञ्जका कर्मचारीले हात्तीमा उक्त क्षेत्रका अनुगमन गरेका हुन् । पुलहरु बढीले बगाएका कारण सबै ठाउँमा पुग्न सकिने अवस्था नरहेको ऐरले बताए । बर्कोला क्षेत्रका सबै पुल बगाएर बाटो अवरुद्ध भएको छ । सिंहपुर क्षेत्रबाट पनि पुल बगेपछि डाइभर्सन बनाएर आउजाउ भइरहेको छ । बाढीले हिरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा समेत क्षति पुर्याएको छ । उक्त क्षेत्रमा तारबार भत्काएको छ । तत्काल मर्मत गर्नुपर्ने उनले बताए । ‘सबै ठाउँमा पुग्न सकिएको छैन, कहाँ कति क्षति भएको छ केही अनुमान गर्न सकिएको छैन,’ संरक्षण अधिकृत ऐरले भने ।
बाढीले बगाएर वन्यजन्तु भारतीय क्षेत्रसम्म पुगेको हुन सक्ने भएकाले उक्त क्षेत्रमा समेत रखेदेखका लागि निकुञ्जले आग्रह गरेको छ । यसबारे कर्मचरीलाई आवश्यक सुचना संकलनमा खटाइएको उनले बताए । निकुञ्ज कार्यालय र निवास समेत डुबानमा परेको थियो । कार्यालयका फाइलहरु समेत डुबानमा भिजेको र हराएको संरक्षण अधिकृत ऐरले बताए ।