धनगढी : कैलालीको चुरे गाउँपालिकाले बाढी–पहिरो पीडितहरूलाई सोलार र त्रिपाल वितरण गरेको छ। पालिकाले गाउँपालिका क्षेत्रमा रहेका बाढीपिडितहरुलाई २० वटा सोलार र ५२ थान त्रिपाल वितरण गरेको हो। गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले पालिकाको–४ नम्बर वडा बालुवागडामा रहेका २५ परिवारलाई त्रिपाल र पनेरुगडाका २० परिवारलाई सोलार,२७ परिवारलाई त्रिपाल वितरण गरेको बताए । ‘बर्सातको समय सुरु भयो । उहाँहरूलाई बस्न खान नै समस्या भएको छ । केही राहत होस भन्ने उद्देश्यले हामीले सोलार त्रिपाल वितरण गरेका हौँ,‘गाउँपालिका अध्यक्ष बोगटीले भने ।
वृक्षारोपण र तार–बार गर्ने नाममा सब डिभिजनले जङ्गलमा बसेका बिचल्ली गरेपछि चरम समस्यामा रहेका बाढी पहिरो पीडितहरूको सहजताका लागी सामाग्री वितरण गरीएको बोगटीको भनाई छ । ‘विगत ४÷५ वर्ष देखी पालमुनि अँध्यारोमा बस्दै आएका पहिरोपिडितहरु छन’ उनले भने ‘ गत वर्ष पनि उहाँहरूलाई सोलार र त्रिपाल वितरण गरेका थियौँ । आवश्यकता हेरेर अहिले पनि केही परिवारलाई वितरण गरेका हौँ । राहत सामाग्री वितरण भन्दा पनि दीर्घकालीन समस्या समाधानमा हाम्रो मुख्य ध्यान छ,’बोगटीले भने ।
अँध्यारोमा पालमुनि रात–दिन काटिरहेको बाढी पहिरो पीडितहरू सोलार र त्रिपाल पाएपछि हर्षित भएका छन्। ‘बस्ने बास छैन खाने गाँस छैन । खुल्ला आकाशमुनि अध्योरोमा बस्न बाध्य थियौँ । गाउँपालिका अध्यक्ष चक्र बोगटीले त्रिपाल र सोलार दिनुभयो निकै खुशीछौँ,’पनेरुगडाकी वासुदेवी कार्कीले भनिन् ।
पिउने पानीको समेत हाहाकार छ । ६ सात वर्ष बसेको ठाउँ पनि वनका कर्मचारीले लगे । चुरे गाउँपालिकाले बेला बेलामा राहत सामाग्री बाढी रहेको छ । त्रिपाल र सोलार त पायौँ खानका लागी अन्नको पनि व्यवस्था भइदिए झन् खुसिहुन्थ्यौँ,’पनेरुगडाकी टिकादेवी बुढाले भनिन् ।
तत्कालका लागी राहत सामाग्री पाएकोमा खुसी व्यक्त गर्दै बाढी पहिरो पीडितहरूले आफूहरूको दीर्घकालीन समस्या समाधानको माग गरे । ‘त्रिपाल पाउँदा खुशीछौँ तर हाम्रा आवश्यकता यतीले मात्रै पुग्दैन समस्या समाधानका लागी स्थानीय,प्रदेश र सङ्घीय सरकार समक्ष आग्रह गरीरहेकाछौँ,’बालुवागडाका शेर बहादुर धामीले भने ।
चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी र वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र बहादुर लामिछाने मगरले बाढी–पहिरोलाई संयुक्तरुपमा त्रिपाल र सोलार वितरण गरेका हुन् ।