धनगढी : भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउन सक्रियता बढाएको छ । सरकारले गृह मन्त्रालयमार्फत सबै जिल्लामा अतिक्रमणमा गरिएका सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको पहल सुरु गरेसँगै नगरपालिकाले पनि त्यसको सुरुआत सदरमुकाम महेन्द्रनगरबाट सुरु गरेको हो ।
भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुुशील भट्टले बजार क्षेत्र र आसपासमा मात्रै सार्वजनिक जग्गामा बनाइएका दुई सयभन्दा बढी पक्की घर, सटर र भवनमा नगरपालिकाले डोजर लगाएको बताए । गुरुयोजना लत्याएर तत्कालीन महेन्द्रनगर नगरविकास समितिका नेतृत्वहरुले भाडाका नाममा जग्गा वितरण गरेपछि उक्त विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । अदालतले नै रिट खारेज गर्दै जग्गा खाली गराउन सहज हुने गरी आदेश गरेपछि नगरप्रमुख पदम बोगटीले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना भत्काउन सुरु गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा केही समयअघि बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले समेत सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा समझदारी भएको थियो । केही दिनअघि मात्रै नगरपालिकाले यहाँस्थित होटल ओपेराले भाडामा लिएर बनाएको स्वीमिड पुल र पार्किडस्थलमा समेत डोजर चलाएको थियो । यहाँ केही वर्षयता नगरविकास समितिको जग्गा भाडामा लिएर विभिन्न व्यवसाय गरिरहेकाहरुलाई जग्गा खाली गर्न समयसमेत दिएको थियो ।