धनगढी : कैलालीको घोडाघोडी नगरपालिका ८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा जमिनमा धान लगाएका छन् । उनि त्यही धान भित्र्याउने तयारीमा छन् ।
वर्षे धान खेतीभन्दा बढी उब्जनी हुने भएकाले विगत तीन वर्षदेखि चैत धान खेती गर्न थालेको उनले बताए । “खेती लगाएको सुरुको वर्ष पाँच कट्ठामा १० क्विन्टल उत्पादन भएको थियो । सोही जग्गामा वर्षे धान लगाउँदा बढीमा छ क्विन्टलसम्म उत्पादन हुन्थ्यो । त्यसैले आउँदो वर्ष एक बिघामा धान लगाउने सोच बनाएको छु”, उनले भने, “खान मिठो र उत्पादन पनि राम्रो हुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको थिए । अहिलेसम्म पछुताउनु परेको छैन ।”
उनि मात्रै होइन घोडाघोडी नगरपालिकाका ९० जना कृषकले पाँच सय २१ कट्ठामा चैते धान खेती गरेका छन् । तिनै किसानमध्ये कतिपयले धान भित्र्याइसकेका छन् भने कतिपय भित्र्याउने तयारीमा छन् । यसरी चैते धान खेतीतर्फ आकर्षित भएका किसानलाई प्रोत्साहनका लागि घोडाघोडी नगरपालिकाले पुरस्कार स्वरूप नगद सहयोगसहित सम्मानित गरेको छ । पालिकाभित्रका चैते धान रोप्ने ९० कृषकलाई प्रतिकट्ठा पाँच सयका दरले पुरस्कृत र सम्मान गरेको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए ।
पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीयस्तरमा उत्पादन बढाउन कृषकलाई प्रोत्साहन स्वरूप नगरपालिकाले नगद पुरस्कार दिने नीति लिएको उहाँले बताउनुभयो । घोडाघोडीसँगै कैलालीका अन्य पालिकामा पनि चैते धान खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कैलालीको तल्लो क्षेत्रका स्थानीयले विगतदेखि नै बाढीका कारण चैते धान लगाउँदै आएका थिए तर पछिल्लो समय कैलालीका बाढी प्रभावित नहुने क्षेत्रका कृषकसमेत चैते धान खेतीतर्फ आकर्षित हुँदै गएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जानकारी दिए ।
“भजनी र टीकापुर नगरपालिकाका साथै जोशिपुर र कैलारी गाउँपालिकामा पनि विगतदेखि नै चैते धान खेती लगाउने गरिएको थियो । यी क्षेत्रमा वर्षातमा डुबान हुने भएकाले चैते धान लगाइ पनि पछिल्ला वर्षमा डुबान नहुने घोडाघोडी, लम्किचुहान नगरपालिका र धनगढी उपमहानगरपालिका लगायतका क्षेत्रमा पनि चैते धान खेती लगाउने कृषकको सङ्ख्या बढ्दै गएको छ”, उनले भने । डुबान हुने क्षेत्रमा एक बाली र अन्य क्षेत्रमा चैते र वर्षे गरेर दुई बाली धान भित्र्याउने गरिएको छ ।


