धनगढी। कैलाली र कञ्चनपुरमा स्थानीय सरकारले व्यवस्थापन गरेका चौपायाको बिजोग देखिएको छ। छाडा चौपाया ब्यवस्थापनको लागी स्थानीय सरकारले मुख्य जिम्मा पाएको भएपनी गौशालामै थुनेका चौपायाहरुको व्यवस्थापनमा स्थानीय सरकार चुकेको छ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ भल्कामा रहेको लक्ष्मी महिला सामुदायीक बनभीत्र रहेको कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा ४ सयबढी चौपायाका कंगाल फेला परेका छन। स्थानीयको खेतीपाती नोक्सान गरेको भन्दै वडाध्यक्ष रामलाल रानाको उपस्थितिमा साउनको २ गते बसेको बैठकले लक्ष्मी महिला सामुदायीक बनभीत्र पशुचौपाया राख्ने निर्णय भएको थियो।
सामुदायीक बनभीत्र तारबार लगाएर राखिएका ५ सय भन्दा बढी चौपाया मध्ये ४ सय बढी मरेका हुन। छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसाथ गोदावरी नगरपालिकाले गौशाला स्थापना गरेर त्यहाँ गाईगोरु व्यवस्थापन गरेको छ । तर गौशालामा राखिएका चौपाया भोकभोकै मरिरहेका छन्। राम्रो स्याहार र खाना नपाएर धेरै चौपाया मरेको स्थानीयको भनाइ छ । हेरालुहरुले १२–१ बजेपछि मात्र गौशालाबाट छाडा चौपायालाई निकाल्ने गरेको स्थानीयले आरोप लगाए । व्यवस्थापनको नाममा खुला आकाशमुनि थुनेर राखिएको चौपाया जाडोको बेला धेरै मरेको देखिएको छ।
गौशाला वरिपरि अत्यधिक मरेका चौपायाको सिनो र अस्थिपञ्जर रहेका छन्। स्थानीय विराज विष्टले कान्जी हाउसमा पशुचौपाया हुलेर राखेको र उनको उपचार, खाना र ओतको ब्यवस्था नगरिएकाले गौहत्या भएको आरोप लगाए।सयौँ गाईका कङ्काल भेटिएको अवस्थामा एक स्थानमा गिद्धसमेत मरेको पाइएको छ। छोटो समयमा करिब चार सयको सङ्ख्यामा गाई मरेको स्थानमा गिद्ध समेत मरेको भेटिएपछि चौपाया मार्न कुनै विषादीको प्रयोग त गरिएन भन्ने आशँका समेत गरिएको छ।उनले कान्जी हाउसको सबै जिम्मेवारी नगरपालिका र वडाको रहेको भन्दै सुनियोजित रुपमा गौहत्या गरिएको बताए ।
तर अहिले वडाका कसैले पनि हामीलाई थाहा छैन भन्दै पन्छिरहेको उनले बताए। स्थानीयको बालीनाली नस्ट गर्न थालेको भन्दै २०८० सालको साउनको २ गते वडाध्यक्ष रामलाल रानाको रहोबरमा बसेको सामुदायीक बनको माशिक बैठकमा, सामुदायीक बनभीत्र तारबार गरी छाडापशुचौपाया राख्ने र हरेक घरबाट महिनामा सय÷सय रुपैया उठाएर हेरालु राख्ने निर्णय भएको थियो । लक्ष्मी सामुदायकि बनकी अध्यक्ष अनीता चौधरीले वडाध्यक्ष रामलाल रानाले छाडा पशुचौयापाका लागि वडामा बजेट नभएको बताएपछि हरेक घरबाट सय रुपैया महिनाको संकलन गरेर ६ जना हेरालु समेत राखिएको बताईन ।४ सय बढी चौपाया मरेको खबरपछि वडाध्यक्ष रानाले आफुलाई पशुचौपाया मरेको बारे कसैले जानकारी नगराएको बताए।
स्थानीय डिल्ली सिह खत्रीले भदौ देखि ने कान्जी हाउसका गाईहरु मर्न थालेको बताउँदै यस्मा वडा कार्यालयले लापरवाही गरेको देखिएको बताए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले छाडा चौपाया व्यवस्थापनको अधिकार स्थानीय तहलाई सुम्पेको छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछिको ६ वर्षमा कञ्चनपुरमा मात्रै १० करोडको हाराहारी बजेट खर्च भइसकेको छ। सोहि हाराहारीमा कैलालीमा पनि खर्च भै सकेको छ । यसअघि मात्रै सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छाडा चौपाया व्यवस्थापन गर्न ५ करोड बजेट छुट्याएको थियो। पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर र कैलालीमा २/२ करोड तथा पशु सेवा निर्देशनालय दिपायललाई एक करोड बजेट छुट्याइएको थियो। स्थानीय तहले व्यवस्थापन गर्न खोजेमा संरचना,दाना र हेरालुलगायतका लागि उक्त बजेट छुट्याइएको थियो। यसरी थुनेर चौपायप्रति गरिएको अन्यायको उचित छानविन गरि दोषीलाई कारवाही गरिनुपर्ने स्थानीयले माग गरेका छन्।


