धनगढी। सुदूरपश्चिम प्रदेशको सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालयको नवनिर्मित भवन बिहीबार उद्घाटन गरियो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकै बजेटमा मन्त्रालय परिसरमै निर्माण गरिएको भवन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले उद्घाटन गरे।
मन्त्रालयसँगै सो भवन निर्माण गरिएको छ। तर मन्त्रालयकै राज्यमन्त्री कैलाश चौधरीले आफ्नै मन्त्रालय परिसरमा आयोजना गरिएको सो कार्यालय भवन उद्घाटन समारोह बहिष्कार गरेका छन् । निर्माण सम्पन्न भएर उद्घाटन गर्दा आफूलाई खबर नभएपछि उनी कार्यक्रममा सहभागी भएनन्। कार्यक्रमका प्रमुख अतिथि रहेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरी दुवै नागरिक उन्मुक्ति पार्टीका हुन्।
मन्त्रीलाई खबर गरेर राज्यमन्त्रीलाई खबर नगरेको हुँदा राज्यमन्त्री चौधरीले कार्यक्रम बहिस्कार गरेको राज्यमन्त्री सचिवालय स्रोतले जानकारी दियो । कार्यालय उद्घाटन कार्यक्रम हुँदा सम्म राज्यमन्त्री चौधरी मन्त्रालयमै थिए । तर, कार्यक्रममा भने गएनन् । ‘मलाइ कार्यक्रम सुरु भएपछि देखेर बोलाउन आउनु भएको थियो अहिले म अन्य काममा व्यस्त छु तपाईंहरू कार्यक्रम गर्दै गर्नुहोस् म आउँदिनँ भनेँ राज्यमन्त्री चौधरीले भने ।
अघिल्लो दिनसम्म खबर नदिएका कार्यालयका कर्मचारीहरूले उद्घाटन हुँदा मन्त्रीलाई देखेपछि बोलाउन पुगेका थिए। राज्यमन्त्री चौधरीले जान मानेनन् । ‘राज्यमन्त्रीको पनि एउटा गरिमा हुन्छ । देखेर आउनुहोस् भन्ने कुरा त भएन नि’, उनी निकट स्रोतले भन्यो, ‘उहाँलाई त्यो बेला नदेखेको भए त नबोलाउने नै नियत रहेछ नि ।’ पहिलो पटक एक कर्मचारीले राज्यमन्त्रीलाई कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका थिए । राज्यमन्त्रीले नमानेपछि योजना तथा अनुगमन महाशाखा प्रमुख समेत रहेका रजिस्टार टिकाराम थापा नै राज्य मन्त्रीलाई बोलाउन पुगे । राज्यमन्त्रीलाई आफूलाई खबर नगरेको र खबर नगरेको कार्यक्रममा नजाने भनेपछि थापा फर्किए ।
‘हामीले राज्यमन्त्री ज्यूलाई मन्त्रालयमा देखेपछि बोलाउन गएका थियौँ । उहाँ आउनु भएन’, थापाले भने, ‘उहाँले म व्यस्त छु तपाईंरु नै गर्नुहोस् भन्नु भएको हो ।’ ४ करोड ३४ लाख लागत इस्टिमेट गरिएको भवनको २ करोड ९४ लाख लागतमा निर्माण गर्नुपर्ने सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय भवनको समयभन्दा अघि नै र कममा निर्माण गरिएको थियो । राज्यमन्त्री नआएपछि मन्त्री रामेश्वर चौधरीले नै उक्त भवन उद्घाटन गरे । मुख्यमन्त्री कमल बहादुर शाहले २०८० साउन १७ गते नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई नियुक्त गरेका थिए । तर राज्यमन्त्री कैलाश चौधरीले आफूलाई जिम्मेवारीविहीन बनाएको भन्दै पटक–पटक पार्टी अध्यक्ष रेशमलाल चौधरी, संसदीय दलको नेता घनश्याम चौधरीलाई जिम्मेवारी बाँडफाँडको लागि आग्रह गर्दै आएका छन् ।
आफ्नो मागको कुनै सुनुवाइ नहुँदा उनी रुष्ट छन् । उनी भन्छन्, ‘सामान्य औपचारिक कार्यक्रममा मात्रै सीमित छु। मन्त्रालयमा आफ्नो जिम्मेवारी स्पष्ट नभएपछि अन्योलमा छु ।’ यता मन्त्री रामेश्वर चौधरी भने मन्त्री र राज्यमन्त्रीको कानूनमा भएको व्यवस्था अनुसार काम कर्तव्य र अधिकार अनुसार जिम्मेवारी बाँडफाँड भएको बताउँछन् ।‘मैले मन्त्रीको जिम्मेवारी निभाइरहेको छु उहाँले राज्यमन्त्रीको जिम्मेवारी निभाइरहनु भएको छ’, मन्त्री चौधरीले भने, ‘खै किन जिम्मेवारी पाइन भन्नुहुन्छ म बुझ्दिनँ ।’
बिहीबार कार्यालय उद्घाटन समारोहमा पनि राज्यमन्त्री काठमाडौँ भएको जस्तो लागेर खबर नगरिएको र एक्कासि मन्त्रालयमा देखेपछि बोलाइएको मन्त्री चौधरीले बताए । यता माओवादी केन्द्रका तर्फबाट भएका मन्त्री र राज्यमन्त्रीको विवाद पनि तिक्तता पैदा भएको छ। मुख्यमन्त्री शाहले २०८० जेठ ६ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास मन्त्री, रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र गीतादेवीलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो।
अहिले माओवादीका दुई मन्त्री बिच सुमधुर सम्बन्ध भए पनि विभागीय मन्त्री र राज्यमन्त्री बिच तिक्तता सुरु भएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्यमन्त्री गीता देवी माल बिच तिक्तता पैदा भएको छ।आफूलाई जिम्मेवारी विहीन बनाएको र जिम्मेवारी नपाएपछि तीन महिना देखी मन्त्रालय नगएको राज्यमन्त्रीको गुनासो छ । कुनै जिम्मेवारी नभएर मन्त्रालय गएर के गर्नु उनले भनिन् ।
केही समय अघि राज्यमन्त्री सहित सुदूरपश्चिम प्रदेशका बहुमत प्रदेश सभा सदस्यहरूले मन्त्रीहरू आफ्नै पार्टी र सांसद प्रति जिम्मेवार नभएको भन्दै दुवै मन्त्री फेर्ने कसर सुरु गरेका थिए ।गत पुस १९ गते प्रदेश सभामुख भीम भण्डारी, राज्यमन्त्री र बहुमत सांसदहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफूहरूको समस्या समेत राखेका थिए । यस क्रममा राज्यमन्त्रीलाई मन्त्रीले कुनै जिम्मेवारी नदिएको विषय पनि उठेको थियो।
यता उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले भने आफूबाट विवाद नभएको राज्यमन्त्री नै दलको नेता हटाउन लागेको आरोप लगाए । उनले आफ्नो तर्फबाट कुनै गुनासो नरहेको र उहाँ नै आफै राज्यमन्त्री हुँदै दलको नेता हटाउन हस्ताक्षर सहित प्रधानमन्त्रीलाई भेट्न पुगेको बताए।उनी राज्यमन्त्री आफूले जिम्मेवारी दिने र नदिने भन्दा पनि मिलेर काम गरिरहेको बताउँछन् । ‘हामीहरू मिलेरै काम गरिरहेका थियौँ विरोध सुरु गरेपछि अहिले धेरै काम ठप्प छन्’, उनले थपे। राज्यमन्त्री सहित ६ जनाको बहुमतले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेरिएपछि अहिले माओवादी भित्र थप विग्रह सुरु भएको छ ।एउटै निर्णयमा मन्त्री र राज्यमन्त्री फरक फरक कित्तामा उभिएपछि थप तिक्तता बढेको हो।