धनगढी। धनगढीमा नगर प्रहरीले सुर्तीजन्य पदार्थ विक्री गर्न नपाइने निर्णय कार्यान्वयन गराउन थालेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि धनगढी नगर क्षेत्रभित्र खाद्य पदार्थका पसलबाट सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने निर्णयको कडाईका साथ लागू गर्न नगर प्रहरीलाई फिल्डमा खटाएको हो । नगर प्रहरीले उपमहानगरको सो निर्णय कार्यान्वयन गर्न बजार अनुगमन गर्ने र सुर्ती तथा मदिराजन्य पदार्थ भेटिए नियन्त्रणमा लिन थालेको छ ।
त्यस्तै सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई उपमहानगरको निर्णयको जानकारी गराई सम्झाइबुझाई गर्नेगरेको छ । पहिलो चरणमा सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थकर्तालाई सम्झाबु्झाई गर्ने फेरी पनि गरेको भेटेमा दण्ड जरिमाना गरिने धनगढी उपमहानगरको नगर प्रहरीले जनाएको छ। नगर प्रहरीकाअनुसार उपमहानगरपालिकाले गत पुस १७ गते एक सुचना जारी गरी माघ १ गतेदेखि धनगढी नगरक्षेत्रभित्र खाद्य पदार्थका पसलबाट सुर्ती तथा मदिराजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाएको थियो।
नगर प्रहरीले उपमहानगरको निर्णय कार्यान्वयन गराउन नियमित बजार अनुगमन गर्ने र अनुगमनका क्रममा नियम विपरित खाद्य पदार्थ विक्री गर्ने पसल, होटेल तथा ठेलामा सुर्तीजन्य पदार्थ भेटिएमा नियन्त्रणमा लिई कारवाही प्रक्रिया थालेको छ। पहिलो चरणमा खाद्य पदार्थ विक्री गर्ने किराना पसल, होटेल तथा होलसेल पसलहरुमा अनुगमन गर्न थालेको छ ।
नगर प्रहरीकाअनुसार पहिलो चरणमा धनगढीको ६ लेन सडकखण्डको मिलन चोकदेखि सहिद गेटसम्म गरिएको अनुगमनका क्रममा चुरोट, गुट्खा, सुर्ती लगायतका प्रतिबन्धित पदार्थ नियन्त्रणमा लिइएको नगर प्रहरीले जानकारी दिएको छ। पहिलो पटकको अनुगमनमा सामान नियन्त्रणमा लिने र व्यापारीलाई सम्झाउने तर अर्को पटकको अनुगमनमा भेटिएमा नियम अनुसार कारबाही गरिने जनाइएको छ ।
यसअघि उपमहानगरपालिकाले स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उपमहानगरपालिकाबाट छुट्टै अनुमति लिनुपर्ने र सोही ऐनको दफा ३० (२) मा खाद्य पदार्थ विक्री गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरण गर्न बन्देज लगाइने उल्लेख भएबमोजिम माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सूर्तीजन्य पदार्थ विक्री गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।


