कैलाली। सुदूरपश्चिम सरकारमा सहभागी माओवादीका मन्त्री फिर्ता बोलाउन प्रचण्डलाई बहुमत सांसदले माग गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकार सुस्त भएको भन्दै माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेश सभा सदस्यहरूले माओवादी अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको विषयमा गम्भीर हुन आग्रह गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता माल सहितका सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका छन् । भण्डारी, धामी र माल सहित माओवादीका सांसद अक्कल रावल,ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विक सहितले सरकारको काम प्रभावकारी नभएको गुनासो गरेका छन् ।
अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीको तर्फबाट २ मन्त्री र १ राज्य मन्त्री छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद छन् । राज्य मन्त्री गीता माल हुन् । शनिवार दुई मन्त्री र बाकी २ सांसद बाहेक सबैले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै माओवादीले सरकारको विषयमा पुनर्विचार गर्नु पर्ने बताएका थिए ।
उनीहरुले त्यस क्रममा तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउनु पर्नेमा जोड दिए।‘सरकार निकै सुस्त भयो । हाम्रो पार्टी बाट सरकारमा जानु भएकाहरूले पनि धेरै काम गर्न सक्नु भएन ’ माओवादीका प्रमुख सचेतक मानबहादुर धामीले भने ‘हाम्रा मन्त्रीलाई फिर्ता बोलाउन र सरकार हेरफेर गर्न हामीले सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई आग्रह गरेका छौँ ।’
सुदूरपश्चिम प्रदेश सभामा माओवादीका सभामुख सहित ११ सांसद छन् । बालुवाटारमै सरकार हेरफेर गर्न ७ जना पुगेपछि प्रधानमन्त्री प्रचण्ड पनि गम्भीर भएका थिए ।प्रदेश सभामा बहुमत प्रदेश सभा सदस्यहरुलेनै सरकारमा गएका आफ्ना पार्टीका मन्त्रीहरू सुस्त भएको, सरकारको काम प्रभावकारी नभएको लगाएतका गुनासो आएपछि यस विषयमा ठोस कदम अगाडी बढाउने प्रधानमन्त्रीले आश्वासन दिएका छन् ।
भेटमा अहिले सम्म विषयगत समिति गठन हुन नसकेको, सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा पनि निष्क्रिय भएको र जनतामा असन्तुष्टिहरू बढ्न थालेको समेत प्रधानमन्त्रीलाई माओवादी सांसदहरूले बताएका थिए ।‘राष्ट्रिय सभा निर्वाचनका लागि अहिले दौडधुप बढिरहेको छ हामी बहुमत प्रदेश सभा सदस्यहरूको गुनासो सुनिसकेपछि राष्ट्रिय सभा निर्वाचन लगत्तै प्रधानमन्त्रीले सरकार हेरफेरको सङ्केत दिनु भएको छ’ छलफलमा सहभागी एक माओवादी सांसदले बताए ।


