धनगढी। नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसइई आईडल-३ मा बि.टि.भि पनि जोडिएको छ। आज भएको सम्झौता अनुसार आइडलले टेलिभिजन पार्टनरका रूपमा बि.टि.भि. को साथ पाएको हो ।
एसइई आईडल आयोजक संस्था प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश छेडाल र बि.टि.भि.का प्रतिनिधि रमेश ऐडीले सहकार्य सम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब छिट्टै बि।टि।भि।बाट हरेक दिन आइडलका छनोट चरण (अडिसन) का हरेक प्रतिस्पर्धीका नृत्य र गायनका भिडियोहरू प्रसारण हुनेछन् । यसै गरी बि.टि.भि.ले एसइई आइडलको धनगढीमा हुने केही अडिसन, सेमिफाइनल र फाइनलको प्रत्यक्ष प्रसारण पनि गर्नेछ।
एसइई आइडलका सुपका ९ जिल्लाका ३० बढी स्थानहरूमा अडिसनहरू आयोजना हुनेछन्। जसमा यस वर्ष एसइई दिने विद्यार्थीहरूले सहभागी हुन पाउनेछन्। यस वर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाइनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु। ५०-५० हजार र रु। २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्। अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ। आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ भने यस संस्करणका अडिसनहरू पनि आयोजना भईरहेका छन्।


