धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीमा २ सय ४४ जना मिटरब्याजी पीडितहरूले उजुरी दर्ता गराएका छन्।
सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि कैलाली प्रशासनमा मिटरब्याजी अनुचित लेनदेनविरुद्ध दुई सय ४४ उजुरी परेका हुन्। मिटर व्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भए बमोजिम मिटर व्याज पीडितलाई निवेदन दिन अनुरोध गरिएको थियो।
एक सय २० निवेदकले ८ करोड ७३ लाख १६ हजार ६३८ रुपैयाँ मिटरब्याजीले ठगेको बताए पनि विपक्षीले भने २ करोड ५५ लाख २५ हजार मात्र भएको दाबी गरेका छन्। निवेदकले ठुलो रकम मिटर ब्याजीले ठगेको आरोप लगाइरहेका बेला विपक्षीले भने थोरै रकम मात्र तिर्नुपर्ने दाबी गरेका हुन्। उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पक्ष र विपक्षको बिचमा छलफल र प्राप्त प्रमाणहरूको विश्लेषण गरी अन्तिममा दुबै पक्षबिच ६ करोड ६५ लाख २१ हजार पाँच सय रुपैयाँ सहमति भएको बताए। कुल एक सय २० निवेदनमध्ये ८० जना पक्ष र विपक्षीबिच सहमति भएको रकम हो उनले भने। मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन्।
यस्तै मिटर ब्याजीमा पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिने, त्यसपछि दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिने गरेको पाइएको छ । र त्यसपछि मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन्। पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित बन्न पुगेका छन्। सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो।
एकै जनाले एक करोडदेखि तीन करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन्। गैर कानुनी मानिएको मिटर ब्याजका कारण कैलालीमा धेरै घरबार विहीन अवस्थामा पुगेका छन्। छोटो समयमा धेरै कमाउने र राम्रो फाइदा लिने लोभका कारण मिटर ब्याजमा लागेकाहरू अहिले लगानी असुल गर्न नसकेर घरबार विहीन अवस्थामा पुगेका छन्। मिटर ब्याजमा भएको लगानीका कारण धनगढीमा केहीको घर र जग्गा डुबेको छ। मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन हुने गरेका छन्।


