धनगढी। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका स्थानीय महिलाबाटै लुटिएका छन्। गाउँका करिब २० परिवार एक भारतीय महिलाबाट लुटिएका हुन् ।
नाम, ठेगाना नखुलेकी ती भारतीय महिलाले १५ देखि २० तोला सुन संकलन गरेर फरार रहेको पीडितहरुले बताएका छन्। उनले काम विशेषले पुरुष घरबाट बाहिर गएका महिलाहरुलाई निसाना बनाएर सुन, चाँदी, तामा, काँसा, पित्तल लगेर फरार भएकी र बल्मीका करिब २० परिवारलाई ठगेको स्थानीय अशोक रोकायले बताए।
ती महिलाले सुरुमा पुराना भाँडा लिएर नयाँ भाडा निःशुल्क रुपमा दिने कार्यबाट ठगीको योजना बनाएको बुझिएको छ। कुनै महिलाबाट सुरुमा दुई हजार नगद मागेर अर्कोदिन त्यो भन्दा बढी पैसा दिएर पनि ठगीको योजना बनाएको खुल्न आएको छ । एक तोला सुन दियो भने दुई तोला पाइने भन्दै ग्रामीण समुदायका महिलालाई ठगी गरेको स्थानीयको गुनासो छ । काखमा बच्चा च्यापेर चार पाँच दिन नियमित बल्मी क्षेत्रमा आइरहने ती महिला स्थानीयका सबै भाँडावर्तन समेत लगेर फरार रहेकी छिन्।


