काठमाडौँ। नेकपा एमालेका नेता डा भीम रावलले डा. गोविन्द केसीको सर्वत्र विरोध हुनुपर्ने बताएका हुन् । आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेता रावलले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. केसीको सर्वत्र विरोध हुनुपर्ने बताए ।
उनले लेखेका छन्,‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न । सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा। गोविन्दको सर्वत्र विरोध हुनपर्छ ।देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर निजले कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ ।’
यसअघि मंसिर २९ गते शुक्रबार अनशन बस्न भनी कैलालीको गेटा पुगेका डा। केसीको अनशनको कार्यक्रम भाँडिएको थियो । गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिसँग बिबाद हुँदा उनको अनशनको कार्यक्रम भाँडिएको हो । केसीले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखेका छन् । केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग राखेपछि विश्वविद्यालयको माग राख्दै आएका सुदूरपश्चिमवासी उनीसँग रुष्ट बनेका छन्।


