पोखरा। पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ। तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी थिइन्।
अचेत अवस्थामा होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो। प्रहरी स्रोतका अनुसार २ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आएकी विकको उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको खुलेको छ। ‘घटना अलि शंकास्पद नै छ । हामीले अनुसन्धान गरिरहेका छौं। अहिलेलाई यति नै भनौं’, उनले भने।
प्रहरीका अनुसार दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए। कोठामा प्रवेश गरेको केही समयमै पुरुष बाहिरिएको र महिला साँझसम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेका थिइन् । ‘होटलमा सीसीटीभी क्यामेरा पनि छैन। कोठा बुक गर्दा कुनै परिचयपत्र पनि राखिएको थिएन रहेछ’,प्रहरी स्रोतले भन्यो,‘होटलको सुरक्षा विधि अपनाइएको छैन।
यसबारे पनि अनुसन्धान हुँदैछ।’ विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको कास्की प्रहरीले जनाएको छ। यो घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।


