कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा रुख काटेको आरोपमा दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी गरेपछि वन कार्यालयले थप दुई जनालाई पक्राउ गरेको हो।
सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरणमा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट र पुर्व शिक्षक एव बेलौरी भन्सार निर्माणका लागि पहलकर्ता केशवराज जोशीलाई पक्राउ गरेको जनाएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले झाडी सरसफाइका नाममा रूख काटेको प्रकरणमा विष्ट र जोशीलाई पक्राउ गरिएको बताए।
उनका अनुसार बुधबारै उनीहरु बिरुद्धमा मुद्दा दायर गरिने छ। यसअघि बेलौरी नपा ६का वडायक्ष भोजराज चौधरीलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडिएको थियो । अर्का आरोपी मदन सिह बोहरा भने फरार रहेको वनले जनाएको छ । उक्त प्रकरणको सब डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले जिम्मेबारी पाएका थिए। गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण लिएको थियो । उनीहरु पाँचै जना बिरुद्धमा बिना ईजाजत रुख बिरुवा काटेको विषयमा मुद्दा दायर भएको छ। बुधबारै थुनछेक बहस हुनेछ ।


