काठमाडौँ। संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिएका छन्।
उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएकी छन्। नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली प्रकट गर्न पूर्वप्रधानमन्त्रीहरु, नेपाल सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू च्यासल पुगेका छन् । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिनेछ ।
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ । अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।त्यस्तै नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।


