काठमाडौं। निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदले पाटन उच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
समयमै निर्वाचन खर्च बुझाउँदा पनि जरिवाना तिराउने निर्णय गरिएको भन्दै रास्वापाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आज रिट निवेदन दायर गरेका हुन्। उनीहरूले दायर गरेको रिट निवेदनमा समयमै खर्च बुझाएर सार्वजनिक गर्दा जरिवाना तिराउने निर्णय गरेको उल्लेख गरेका छन् ।
कानूनअनुसार निर्वाचन खर्च विवरण बुझाइसकेपछि रु १५ हजार जरिवाना गर्नु असंवैधानिक र गैरकानूनी भएको र कुनै पनि कारवाही गर्नुअघि सफाइको मौका दिनुपर्ने रिट निवेदनमा उल्लेख छ ।आफूहरूलाई जरिवाना गर्ने आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानूनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको भन्दै रिट निवेदनमा आयोगले निर्वाचन खर्च विवरण बुझाएर त्यसलाई सार्वजनिक नगरिएको उल्लेख छ । आयोगले प्रतिनिधिसभाका एक हजार ३७ र प्रदेशसभाका एक हजार तीन सय ९८ उम्मेदवारलाई जनही रु १५ हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।


