कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटामा निजी स्रोतका शिक्षकले धर्ना दिएका छन्।सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षकहरुलाई स्वतः नगर शिक्षक घोषणा गरिनुपर्ने लगायतका बिभिन्न मागसहित शुक्लाफाँटा नगरपालिकाको कार्यालयमा दुई घण्टा धर्ना दिएका हुन्।
सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष भुपेन्द्र धामीले पटक-पटक आफ्ना माग सम्बोधनकालागि नगरपालिकालाई ज्ञापन पत्र बुझाउदा समेत कुनै सुनुवाइ नभएको बताए । शुक्रवार नगरभित्र कार्यरत करिब ४५ बढी निजी स्रोत शिक्षकले नगरपालिका अगाडि धर्ना दिएका हुन्। यसअघि संघर्ष समितिले माग सम्बोधनका लागि नगर प्रमुख रण बहादुर महरालाई ज्ञापनपत्र बुझाएको थियो।
तर आफुहरुको माग सम्बोधन नभएपछि सुरुवातमा शान्तीपूर्ण तरिकाले धर्ना दिइएको संघर्ष समितिका अध्यक्ष धामीले बताए।अध्यक्ष धामीले माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम गरिने बताए । आइतबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिदै अध्यक्ष धामीले सोमबार शिक्षा शाखा,प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिने बताए । माग सम्बोधन नभएसम्म संघर्षका कार्यक्रम जारी रहने उनको भनाई छ।
नगरभित्रका सामुदायिक विद्यालयमा निजी स्रोतमा कार्यरत अंग्रेजी,गणित र विज्ञान विषयको हकमा कम्तिमा दुई विज्ञापन सम्मको लाईसेन्स परिक्षाको नतिजा प्रकाशित हुँदा सम्मको अवधिमा लाईसेन्स पेश गर्नेगरी नगर शिक्षक घोषणा गरिनुपर्ने,न्यूनतम पारश्रमिकमा काम गरिरहेका निजी स्रोत शिक्षकहरुलाई नगर शिक्षक व्यवस्थापनका नाममा विस्थापित गर्न नहुने,नगरपालिकाले ल्याएको नगर शिक्षक व्यवस्थापन कार्यविधि संसोधन गर्नुपर्ने लगायतका माग शिक्षकहरुले राखेका छन् ।


