धनगढी। भारतले विस्फोटक पदार्थ आयातको अनुमति (नो अब्जेक्सन सर्टिफिकेट) ६ महिनादेखि ठप्प पारेपछि विकल्पमा चीन गएका लगानीकर्ता पनि सरकारको नीतिका कारण समस्यामा परेका छन् । सरकारको असहयोगका कारण चीनबाट ल्याइएको विस्फोटक पदार्थ भन्सार नाकामा अलपत्र परेका हुन्।
विस्फोटक पदार्थ अहिले रसुवागढी भन्सारमा अलपत्र छ । सरकारले विस्फोटक पदार्थ सरसापटी गर्न पाउने व्यवस्थासहितको विस्फोटक दोस्रो संशोधन नियम गत वैशाखमा ल्याएपछि लगानीकर्ताले चीनबाट विस्फोटक पदार्थ मगाएका थिए । तर सरकारले कार्यविधि कार्यान्वयन नगर्दा व्यापारीले चीनबाट मगाएको विस्फोटक पदार्थ भन्सारमा रोकिएको हो । चीनबाट मगाएको करिब १४० टन विस्फोटक पदार्थमध्ये ९० टन भन्सारमा रोकिएको आयातकर्ता आनन्द चौधरीले बताए।
सरसापट गर्ने पाइने भो भनेर सेनाको द्रुतमार्गका लागि चीनबाट १४० टन विस्फोटक पदार्थ मगाएपनी ५० टन मात्रै सेनाको बंकरमा पुगेको बताए । अरू विस्फोटक पदार्थ तीन सातादेखि भन्सारमै रहेको बताए।नेपालका ४ हजार ६ सय ३९ मेगावाटका सातवटा जलविद्युत् आयोजनामा भारतीय लगानी छ । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज जलविद्युत् निगमको लगानीमा निर्माणाधीन छ । ७ सय ५० मेगावाटको पश्चिम सेती,४ सय ५० मेगावाटको सेती नदी–६,४ सय ९० मेगावाटको अरुण चौथो, ६ सय ६९ मेगावाटको तल्लो अरुण, ४ सय ८० मेगावाटको फुकोट कर्णाली, ९ सय मेगावाटको माथिल्लो कर्णालीको ठेक्का पनि भारतीय कम्पनीले पाएका छन्।
यी आयोजनामा भारतीय अवरोध छैन । नेपाल र अरू देशका लगानीकर्ता जोडिएका आयोजनालाई भने भारतले सर्त र उल्झन तेर्स्याएर अवरोध गरेको हो । नेपाली लगानीमा निर्माणाधीन तनहुँ जलविद्युत्, खिम्ती दोस्रो, नपुचे लिखु, मध्य तमोर, काबेली, लामटाङ, तल्लो इखुवा खोला, सान्जेनलगायतका आयोजनाको काम महिनौंदेखि प्रभावित छन् । यसको मूल कारण विस्फोटक पदार्थमा भारतीय अवरोध रहेको ऊर्जा प्रवर्द्धक कृष्ण आचार्य बताउँछन्। विस्फोटक पदार्थ अभावले ४८.८ मेगावाटको खिम्ती दोस्रो जलविद्युत् आयोजनामा सुरुङमार्गका सबै काम रोकिएका छन्। इप्पानका उपाध्यक्षसमेत रहेका चौधरी भारतबाट ल्याउन अनेक प्रयास गर्दा पनि नसकेपछि विकल्पमा चीन गएका थिए । भन्सारमा रहेको विस्फोटक पदार्थ कसले र कहाँ लैजाने खुलाएपछि मात्रै भन्सार पास हुने र त्यसका लागि गृह मन्त्रालयले सरसापटी कार्यविधि कार्यान्वयन गर्नुपर्ने चौधरी बताउँछन । यसअघि चौधरीले नै चीनबाट ल्याएको ९० टन विस्फोटक पदार्थ होङ्सी सिमेन्ट, सान्जेनलगायतले प्रयोग गरेका थिए ।
एक सचिवका अनुसार भारतीय लगानी र निर्माण कम्पनी जोडिएका बाहेक थुप्रै परियोजनामा विस्फोटक पदार्थ अभाव छ, जसका कारण आयोजनाको लागत बढ्नेदेखि विकास निर्माण तोकिएकै समयमा पूरा नहुने स्थिति छ । नेपालले रक्षा र गृह मन्त्रालयको पूर्वस्वीकृति र निगरानीमा विस्फोटक पदार्थ ल्याउने गरेको थियो ।विस्फोटक पदार्थ प्रयोगमा पनि सेनासँग समन्वय भइरहेको थियो । भारतले नेपाली सेनाद्वारा सञ्चालित इमल्सन प्लान्टका लागि चाहिने कच्चा पदार्थमा पनि बारम्बार अवरोध गर्दै आएको छ ।चीनबाट विस्फोटक पदार्थ मगाउँदा भारतको तुलनामा १०.५ प्रतिशत थप कर तिर्नुपर्छ । दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) सम्झौताका कारण भारतबाट विस्फोटक पदार्थ आयात गर्दा सरकारले छुट दिन्छ । भारतबाट आयातमा ९.५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट गरी २२.५ प्रतिशतमात्रै कर लाग्छ । चीनबाट आयात गर्दा भने २० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट गरी कुल ३३ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।


