काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताएका छन्। सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएपछि पत्रकारहरूसँगको कुराकानीमा चौधरीले लाल आयोग सार्वजनिक हुनुपर्ने बताएका हुन्।
लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु राज्यको दोष भएको उनको भनाइ छ।‘लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ। प्रतिवेदन सार्वजनिक नहुनु राज्यको दोष हो। सहादता प्राप्त गरेका प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ। अढाइ वर्षीय बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ र उहाँहरूका लागि हामीले पनि लडिदिनुपर्छ’, उनले भने।
चौधरीले आफू निर्दोष रहेको पनि बताए। ‘कसैले कसैलाई आरोप लगाएर हुँदैन। असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ’,उनले भने।गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका हुन्। टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई चौधरीले जेल जीवन बिताइरहेका थिए।गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका छन्। चौधरीलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू सोमबार बिहान डिल्लीबजार कारागार पुगेका थिए।


