धनगढी। नेपाली कांग्रेस सुदूरपश्चिम सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले प्रदेश राजधानी सार्न प्रधानमन्त्री समक्ष लबिङ बढाएका छन् । रूख काटेर राजधानी बसाल्न नहुने भन्दै दायर मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका वेला कांग्रेस सभापति बलायरले प्रधानमन्त्री समक्ष लबिङ बढाएका हुन्।
तत्कालीन नेकपा सरकारको पालामा १२ असोज ०७५ मा प्रदेश सभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने चुरेफेदीदेखि तेघरीको भावरसम्मको क्षेत्रमा बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेका वेला बलायरले सोही नगरपालिकाकै चौकीडाँडामा बनाउन नयाँ प्रस्ताव राखेका हुन्। उनले प्रधानमन्त्री समक्ष नयाँ प्रस्ताव राख्दै लबिङको नेतृत्व थालेका छन्। तत्कालीन नेकपा सरकारको पालामा १२ असोज ०७५ मा प्रदेश सभाले राजधानी पारित गरेको थियो ।
सुदूरपश्चिम सरकारले तेघरीमा राजधानीका लागि प्रदेशसभाले तोकेको ४ किल्लाभित्रको ३० लाख सात हजार दुई सय ३७ वर्गमिटर जग्गाको स्वामित्व दिन संघ सरकारसँग माग गरेपनि अहिलेसम्म कुनै निर्णय भएको छैन।भीमदत्त राजमार्गको छेउमा पर्ने उक्त तोकिएको राजधानीलाई नयाँ प्रस्तावमा अत्तरिया बजारदेखि एक किलोमिटर पश्चिम (पूर्व–पश्चिम राजमार्गको छेउमा राख्ने लबिङको गरिरहेको बताइएको छ । कैलाली क्षेत्र नम्बर ४ का सांसद रहेका बलायरले चौकीडाँडामा ६५ बिघा जग्गा रहेकामा रूख काट्न नपर्ने हूँदा त्यहीँ राजधानी सार्न प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रिपोर्ट दिइएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा संघीय सांसदको रायसुझाव लिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बलायरले अन्य सबै प्रदेशको राजधानी बनिसेपनी सुदूरपश्चिमको गोदावरीमा राजधानी नबनेको बताए।
साँसद बलायरले अब चौकीडाँडामा संसद् भवन मात्रै भएपनि बनाइयोस् र केन्द्रले चाँडै डिपिआर गरिदेओस्, भन्ने भनाई राखेका छन्। बलायरले प्रदेश राजधानी सार्ने विषयमा गोदावरी नगरपालिकाले समर्थन जनाएको र आफू त्यहाँको जनप्रतिनिधि भएकाले नेतृत्व लिएको बताए। उनले तेघरी राजधानीका लागि उपयुक्त नभएको र रुख काट्नुपर्ने भएकाले चौकीडाँडामा खोलानजिकको जग्गा र सामुदायिक वन भएपनि त्यती धेरै रूख नभएकोले उपयुक्त हुने बताए । तर, एमालेबाट प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले राजधानीको बिषय प्रदेश सभाको विषय बन्ने बताए । उनले कुनै व्यक्तिले भन्दैमा नहुने भएकाले संघीय सांसदले भन्नुपर्ने कारण नभएको तर्क गरे । प्रदेश सभालाई उपयुक्त छ वा छैन भन्ने लागेमा निर्णय गर्ने प्रदेश सरकारको निर्णयमा भर पर्ने बताए । यस विषयमा सुदूरपश्चिम प्रदेश सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन।


