काठमाडौँ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा विघटनपछि जनताको बलमा ’प्रतिगमन’ परास्त गरिएको बताए ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका बारेमा पनि प्रधानमन्त्री दाहालले अभिव्यक्ति दिएका छन् । प्रतिनिधिसभा विघटनका क्रममा सत्तामा रहेकाहरूले नेपालीलाई भुटानी शरणार्थी बनाएर बेचेको दाहालको भनाइ छ । ’दुई पटक प्रतिनिधिसभा विघटनमात्रै होइन, संविधान विघटन थियो । प्रतिगमनको तयारी थियो । संविधान च्यातिन्छ कि भन्ने लागेको थियो । हामीले त्यसका विरुद्ध मोर्चा खोल्यौं । त्यतिबेला मोर्चा खोल्दा मानिसहरूलाई केही अनौठो लागेको थियो ।
हामी केही नेता माइतीघरको पिचमा पलेटी कसेका थियौं,’ उनले भने, ’त्यतिबेला एक सय, डेढ सय पनि जुटाउन गाह्रो परेका थियो । त्यतिबेला सरकारमा हुनेहरूले र अहिले भुटानी शरणार्थी बनाएर बेच्ने मध्येकाहरूले ’हेर त चिसो बाटोमा बिहान–बिहान पुसमा बस्या, प्रचण्डको हालत त यस्तो पुग्यो’ भन्थे तिनले । सम्झिनुभएको छ ?’नेपालीलाई भुटानी शरणार्थी बनाएर रकम असुल गर्ने प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ मा दुई पटक प्रतिनिधिसभा विघटन गर्दा रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, गैरीशंकर चौधरीलगायत नेताहरू एकतापूर्वको पार्टी माओवादीमा नफर्किएर एमालेमा गएका थिए। नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणका विषयमा पछिल्लो तीन दिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई दुई पटक भेटेर चासो राखेका छन् ।
कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दाहालले थपे, ’तर, त्यसको केही समयपछि लाखौं जनता एकपटक होइन, तीन पटक सडकमा उत्रिए। उनीहरूको सम्पूर्ण प्रतिगमन र विघटनका षड्यन्त्र परास्त भए। नेपाली जनता विजयी भए ।’वर्तमान अवस्थामा माओवादी एकजुट हुनुपर्ने आवश्यकता रहेको पनि दाहालको भनाइ थियो । माओवादी कमजोर हुनुमा एकताबद्ध नहुनु रहेको उनको भनाइ थियो । ’माओवादी कमजोर भएको छ, ३२ सिट छ । हाम्रो नाम ३२ सिटे भएको छ । हामी एकताबद्ध भयौं भने बहुमत हुनेछ, नेपाल कब्जा हुनेछ,’ उनले भने ।


