कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सामुदायिक वनको रुखमा मानव कंकाल फेला परेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थीत कालिका सामुदायिक वनमा आइतबार कंकाल भेटिएको प्रहरीले जनाएको छ।
कंकाल धेरै पुरानो भएकाले पहिचान गर्न समस्या भएको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए। उनका अनुसार शव सडेगलेको अवस्थामा फेला परेको र घाँटी भन्दा माथिको भाग डोरीमा झुण्डिएकै अवस्थामा रहेको छ। शरीरका अन्य अंगहरु स्याललगायत जंगली जनावरहरुले लुछेर लगेको जस्तो देखीएको उनले बताए।
टाउकोको आधा खप्पर, कपडा र हड्डीलगायत केही भाग रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ। घटनास्थल नजिक चप्पल र टोपी भेटिएको छ। उक्त घटनास्थल बस्ती भन्दा करिब ३ किलोमिटर टाढा रहेको छ । आज बिहान दाउँरा लिन गएका स्थानियलेकरिब ९ बजे मानव कंकाल फेला पारेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ।


