काठमाडौं। चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ । गत मंसिरमा ६७ दशमलब ६३ प्रतिशत मत खसेकोमा अहिले उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ ।
उक्त निर्वाचन क्षेत्रका कुल ४३ मतदानस्थलमध्ये १८ वटा स्थलमा मतदान सकिएर मतपेटिका सिलबन्दी भएको विवरण आएको चितवन- २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । मत खसेको विवरण हेर्दा ६० प्रतिशत हाराहारीमा खसेको हाम्रो अनुमान छ, सहायक निर्वाचन अधिकृत आचार्यले भने । चितवन-२ मा कुल एक लाख २४ हजार ६९५ मतदाता छन् । मंसिर ४ मा चितवन-२ मा ८४ हजार मत खसेको थियो ।
मतदान सकिएसँगै सबै मतपेटिका संकलन गरेर भरतपुर ल्याउने र सबै पेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेर गणनाबारे निर्णय गरिने आचार्यले जानकारी दिए । मतदान अधिकृत ईश्वर आचार्यले राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताए । चितवनका ४३ मतदानस्थलमध्ये भरतपुर-११ भोजाडको नयाँ किरण मतदानस्थलमा तीन घण्टाजति मतदान रोकिएको थियो । त्यसैगरी भरतपुर-७ को कृष्णपुर मतदानस्थलमा पनि केहीबेर रोकिएको थियो।


